विश्वकपः इंग्ल्याण्ड २७ वर्षपछि सेमिफाइनलमा, न्यूजिल्याण्ड ११९ रनले पराजित

काठमाडौं, असार १९ । इंग्ल्याण्ड क्रिकेट टिम २७ वर्षपछि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सफल भएको छ । बुधबार राति न्यूजिल्याण्डलाई १०९ रनले हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो । इंग्लिश टिम अन्तिम पटक १९९२ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । विश्वकपको ४१ औं खेलमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको न्यूजिल्याण्ड ४५ ओभरमा १८६ रनमै सेमेटियो ।

उसका लागि टम लाथमले सर्बाधिक ५७, रस टेलरले २८, कप्तान केन विलियम्सनले २७, जिमी नीशमले १९, मिचेल सान्टनरले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमासमेत रन बनाउनस सकेनन् । बलिङमा मार्क उडले ३, जोफ्रा आर्चर, बेन स्टोक्स, आदिल रशिद, क्रिस ओक्स र लायम प्लेङकटले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि जोनी बेरिस्टोले शतक बनाए । उनले १५ चौका र १ छक्काको मद्दतमा ९९ बलमा १०६ रन बनाए ।

जारी विश्वकपमा बेरिस्टोको यो लगातार दोस्रो शतक हो । यसअघि उनले भारतविरुद्ध १११ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध उनी र जेसन रोयबीच पहिलो विकेटका लागि १२३ रनको साझेदारी बन्यो । रोयले ६० रन बनाए । जारी विश्वकपमा उनको तेस्रो अर्धशतक हो । साथै रोयले यो विश्वकपमा एक शतकसमेत बनाइसकेका छन् ।

यस्तै कप्तान इओन मोर्गनले ४२, जो रुटले २४, जोस बटलर, आदिल रशिदले १६, बेन स्टोक्सले ११–११, क्रिस ओक्सले ४ रनको योगदान दिए । लायम प्लेङकट १५ र जोफ्रा आर्चर १ रनमा अविजित रहे । बलिङमा जिमी नीशम, म्याट हेनरी, ट्रेन्ट बोल्टले २–२, टिम साउथी र मिचेल सान्टनरले एक–एक विकेट लिए । इंग्ल्यान्ड ९ खेलमा ६ मा जीत र ३ मा हारका साथ १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

न्यूजिल्यान्ड ९ खेलमा ५ मा जीत र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । शुक्रबार पाकिस्तान र बंगलादेश खेल्ने छन् । पाकिस्तान पराजित भए न्यूजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । यद्यपि पाकिस्तानले असम्भव प्रायः नतिजा निकाले मात्र सेमिफाइनलमा प्रवेश गर्नेछ । अष्टेलिया र भारतले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।


कमेन्ट गर्नुहोस्