डाँकाको आक्रमणमा गाउँले घाइते, एक डाँका गाउँलेको फन्दामा

काठमाडौं, असार १९ । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले दुई घरमा डकैती गरेको छ।, बुधबार राति बर्दिवास नगरपालिका– ६ र ७ मा पर्ने प्रेमनगरमा डाका समूहले १५ लाख बराबरको धनमाल लुटेर लगेका प्रहरीले जनाएको छ।

स्थानीय रामसुनर महतो र चन्देश्वर महतोको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले जानकारी दिए। डकैती गरेर भाग्दै गर्दा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत भएको छ। डाकाको आक्रमणमा परी तीन गाउँले घाइते भएका छन्।

गाउँलेले डाँकाको समूहमध्ये एकलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन्। पक्राउ पर्नेमा सर्लाही चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापड रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। डाका समूहको आक्रमणमा परी घरमुली चन्देश्वर महतो, उनकी श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन्।

उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले जानकारी दिए। यो समाचार आजको नेपाल खबरबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्