नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य, रितको शतक

काठमाडौं, असार २० । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो  खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट १३७ बलमा ११५ रन बनाए । यस्तै खडक बोहराले ९० बलमा ९०, कुसल मल्लले नट आउट २३ बलमा ५१ रनको योगदान दिए । यस्तै पवन सराफ ४५, कप्तान रोहित पौडेल ७ र विशालविक्रम केसी १ रनमा आउट भए ।  सिंगापुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज तीन खेलाडी हेरफेर गरेको छ । चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आज प्लेइङ–११ मा समावेश गरिएको छ ।

अघिल्लो खेलमा टिममा स्थान पाएका प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बमलाई आज आराम दिइएको हो । यदि सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ । पहिलो खेलमा चीनविरुद्ध १० विकेटले विजयी भएको नेपाली टिम आत्मविश्वासले भरिएको छ ।

साथै उक्त जीतसँगै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफलसमेत भइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल अंक तालिकाको शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ । हालसम्म नेपाल र सिंगापुरबीच १० पटक खेल भएको छ । जसमा नेपाल ९ खेलमा जीत दर्ता गर्न सफल भएको छ । एक खेल प्रतिकूल मौसमका कारण नतिजाविहीन भएको थियो ।

कमेन्ट गर्नुहोस्