बीमाको रकम पाउन आफ्नै छोरीको हत्या

काठमाडौं, असार २० । रौतहटमा बीमा वापतको रकमका लागि बाबुले ४ वर्षीय छोरीको हत्या गरेका छन् ।

रौतहट प्रहरीले असार १७ गते बेपत्ता भएको निवेदन परेकी ४ वर्षीया लक्ष्मीको हत्या उनकै बाबु रामकिशोर यादवले गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले स्थानीय मौलापुर नगरपालिकास्थित माछा पोखरीमा बालिकाको शव फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले हत्यामा रामकिसोर संलग्न रहेको प्रमाणका आधारमा उनलाई पक्राउ गरेको बताए ।

उनले प्रहरी अनुसन्धानमा आरोपीले प्रभु लाईफ इन्स्युरेन्समा छोरीको २५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरेको र सोही रकमका लागि हत्या गरेको बताए । घटना लगत्तै प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले डिएसपी कार्कीको संयोजकत्वमा सात सदस्सीय अनुसन्धान टोली गठन गरेका थिए। प्रहरीका अनुसार ३९ वर्षीय रामकिशोर द्वन्दकालमा नेकपा माओवादीमा सक्रियरुपमा लागी भूमीगत भएका थिए।

अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

भूमीगत समयमा राम किसोर यादव उर्फ ढकालका नामले चिनिएका उनी २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरेका अभियुक्त हुन् ।

प्रहरीका अनुसार रामकिसोरले योजना अनुसार बीमा गरेर रकम प्राप्तगर्न छोरीको हत्या गरेका हुन् । उनलाई बीमा एजेन्ट धर्बेन्द्र यादवले सबै योजना र तरिका सिकाएका थिए ।

प्रहरीले मुख्य अभियुक्त रामकिसोर र बीमा एजेन्ट धर्बेन्द्र यादव दुवैलाई मुलुकी अपराध सहिंता २०७४, ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी शुक्रबार म्याद थप गरेको छ। प्रहरीका अनुसार धर्बेन्द्र फरार छन् ।

कमेन्ट गर्नुहोस्