चाबहिलमा ‘ग्याङ फाइट’ हुँदा एक जना गम्भीर घाइते

काठमाडौं, असार २० । काठमाडौंको चाबहिल स्थित पशुपति मा.वि छेउ भएको ‘ग्याङ फाइट’मा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई रहेका छन् ।

शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । दुई दिनअघि भएको झगडामा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत बायिनाँको पेटमा छुरी प्रहार भएको थियो ।

हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको थियो ।

‘अहिलेसम्म अन्य कारण देखिएको छैन’, डीएसपी बोगटीले भने, ‘थप कारण केही छन् कि भनेर अनुसन्धान गरिरहेका छौं ।’ यसअघि २० वैशाखमा ललितपुरको पुल्चोकमा केटीको निहुँमा दुई समूहबीच झगडा हुँदा २० वर्षीय अनसल शाक्यको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्