चम्किँए इमाम र बाबर, पाकिस्तानद्वारा बंगलादेशलाई ३१६ रनको चुनौती

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल पुग्ने सपना साकार गर्न खेलिरहेको पाकिस्तानले बंगलादेशलाई ३१६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर३१५ रन बनायो ।

उसका लागि ओपनर इमामउल हकले शतक बनाए । उनले ७ चौकाको मद्दतमा १०० बलमा शतक बनाएर आउट भए । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो । साथै उनले यो विश्वकपमा एक अर्धशतकसमेत बनाएका छन् । यस्तै बाबर आजम जारी विश्वकपमा शतक बनाउन ४ रनले चुके । उनले ११ चौकाको मद्दतमा ९८ बलमा ९६ रनको योगदान दिए ।

पाकिस्तानलाई विशाल लक्ष्यमा पुर्याउन इमाद वासिमले ४३, मोहम्मद अफिजले २७, फखर जमानले १३, हरिस सोहेलले ६, कप्तान सरफराज अहमदले नट आउट ३, मोहम्मद आमिरले ८, वाहब रियाजले २–२, सादव खानले एक रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, मोहम्मद सैफउद्दिनले ३ र मेहदी हसन मिराजले एक विकेट लिए ।

सेमिफाइनल पुग्ने पाकिस्तानको झिनो अंक गणितीय सम्भावना छ । आज पाकिस्तानले अप्रत्यासित फराकिलो जीत निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान आजको खेलमा विजयी भए ११ अंक हुने छ । तर, पाकिस्तान न्यूजिल्यान्ड भन्दा नेट रन रेटमा धेरै पछि छ । त्यसैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जितले मात्र प्राप्त हुने छैन । न्यूजिल्यान्डको रन रेट ०.१७५ हुँदा पाकिस्तानको ०.७९२ छ । आज पाकिस्तानले रनको पहाड बनाउन सके झिनो आशा देखिन्छ ।

कमेन्ट गर्नुहोस्