समाजवादीका नेता–कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले विरोधका लागि भए पनि मास्क लगाउन विरोधीलाई आग्रह गरेका छन् । काठमाडौंका सडकमा अहिले मास्क नलगाएरै पनि हिँड्न सकिने अवस्था रहेको भन्दै प्रधानमन्त्रीले विरोधका लागि भने मास्क लगाएर हिँड्न सकिने बताए । समाजवादी पार्टीबाट नेकपा प्रवेश गरेका नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार स्वागत गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंका सडक धेरै धुलाम्य थिए । त्यस्तो धुलाम्य अहिले छैन । त्यो वेला मास्क नलाई हिँड्न सक्ने अवस्था थिएन । तर, अहिले त्यस्तो अवस्था छैन ।

मास्क नलगाएर पनि हिँड्न सकिन्छ ।’ सरकारले यसलाई पनि अझ सुधार गरिरहेको भन्दै थपे, ‘मेरो विरोधकै निम्ति केहीले सम्झीसम्झी मास्क लगाउन थालेका छन् ।’ सरकारको विरोध गर्न भए पनि मास्क लगाउने भनी ओलीले व्यंग्य गरे । ‘धुलोले स्वास्थ्यलाई असर गर्छ,’ ओलीले कटाक्ष गर्दै भने, ‘मेरो रिसले भए पनि कृपया मास्क लगाउनुस् ।’ कार्यक्रममा पूर्वमन्त्री तथा समाजवादी पार्टीका नेता कल्पना धमला, देवेन्द्र पराजुली, बुढाखर बस्याललगायत संघीय परिषद्का १८ सदस्य र प्रदेश समितिका ४० गरी एक सय जति नेता–कार्यकर्ता नेकपा प्रवेश गरे । नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे ।

‘बाबुरामको डिग्री काम छैन’
ओलीले डा। बाबुराम भट्टराईप्रतिसमेत कटाक्ष गरे । ‘डिग्रीले क्रान्ति गर्दैन । निष्ठाले, दृष्टिकोणले क्रान्ति गर्छ ।’ डिग्रीले देश सम्हाल्यो भने ठीकै हुने, तर दम्भ पलाए अनेक समस्या ल्याउने दाबी गरे । ‘नेपालमा पिएचडी गर्नेहरू धेरै छन्, पिएचडीकै भरमा उहाँले दम्भ देखाउन आवश्यक छैन,’ ओलीले भने ।

‘आइफाको विरोध अनावश्यक’
पर्यटक भित्र्याउन खोजिएका वेला आइफा अवार्डको विरोध गरिएको भन्दै ओलीले दुःख व्यक्त गरे । ‘हामीले २० लाख पर्यटक भित्र्याउने भनेका छौँ । छोटो अवधिमै ४र५ लाख पर्यटक भित्र्याउनु छ । त्यसलाई सफल हुन नदिन अहिले आइफा अवार्डबारे अनर्गल हल्ला चलाइएको छ,’ उनले भने, ‘यून लागत, धेरै प्रतिफल आउने गरी त्यसको आयोजना गर्ने भनिएको थियो । अर्बौं खर्च गर्ने हावा कुरा गरेर विरोध गरियो ।’ उनले देशलाई नाफा हुने गरी अवार्ड गरिने बताए ।

बाबुरामजी नेकपामा आउनोस्- प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनमै जोडिए मात्र बाबुराम भट्टराईको बौद्धिकताको अर्थ हुने बताए । ‘बाबुरामजीको बौद्धिकता अन्त प्रयोग हुन सक्दैन, कम्युनिस्ट आन्दोलनमै जोडिए मात्र पिएचडी प्रयोगमा आउन सक्छ’ उनले भने । कम्युनिस्ट पार्टीमा हुँदा बाबुरामको धेरै ठूलो महत्व र भूमिका हुने भन्दै प्रचण्डले नेकपामा आउन आह्वान गरे ।

एकतामा आउन सबैलाई आह्वान
मोहनविक्रम सिंह, मोहन वैद्य किरण, नारायणमान बिजुक्छे रोहित, चित्रबहादुर केसी र नेत्रविक्रम चन्द विप्लवलाई पनि एकतामा आउन उनले आह्वान गरे । ‘के गर्दा आफूले गुरु मानेका नेताहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ, गर्न तयार छौँ,’ उनले भने, ‘मोहन वैद्यप्रति अहिले पनि सम्मान छ । रोहितजी एउटा वेग्लै धारा भएको नेता हो । प्रचण्डले बाटो बिरायो भनेर विप्लवजी आफैँ सोझ्याउन लाग्नुभएको छ, त्यो असम्भव बाटोतिर नलाग्नुस्, अब सबै एकताबद्ध होऔँ,’ उनले भने । पार्टीभित्र वातावरण बनाउन कुनै कन्जुस्याइँ नगरिने प्रचण्डले दाबी गरे । यो सउमाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्