तीन सय घरपरिवारका लागि एउटा धारोः पालो पाउन तीन घन्टा लाइनमा

काठमाडौं, असार २१ । सिन्धुलीको तीनपाटन गाउँपालिकाको केन्द्र हो, चकमके बजार । तर, गाउँपालिकाको केन्द्र रहे पनि करिब तीन सय घरपरिवार रहेको चकमके बजारमा खानेपानीको ठूलो समस्या छ । बजारभरमा एउटा मात्र खानेपानीको धारा छ । जहाँ पानी भर्न स्थानीय घन्टौँ पालो कुरिरहेका देखिन्छन् ।

पानीको धारा हाँडीखोला किनारमा छ । त्यसैले पानी भर्न खोला तर्नुपर्छ । खोला धेरै ठूलो त छैन तर पानी परेर बाढी आयो भने तर्न मुस्किल हुन्छ । त्यसैले बर्खामा स्थानीय आकाश हेरेर पानी भर्न जान्छन् । स्थानीय शिवप्रसाद गौतमले भने, ‘बर्खामा त प्रायः पानी बोक्ने जिम्मा पुरुषको हुन्छ । महिलाहरू गाग्री बोकेर खोला तर्न सक्दैनन् ।’

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीले सञ्चालन गरेको खानेपानी आयोजना बजार क्षेत्रमा विस्तार भएको थियो, तर धारामा आउने पानी पिउनयोग्य नरहेको गाउँपालिका कार्यालयले जनाएको छ । डिभिजन कार्यालयले सोझै खोलाको पानी ल्याएकाले खोलामा बाढी आउँदा मात्र होइन गाईवस्तु प्रवेश गर्दासमेत पानी धमिलो आउँछ ।

गौतम मात्र नभएर स्थानीय बजारवासी सबैको दैनिकी यस्तै हो । ‘दिनको समयमा पानी छिट्याउन थाल्यो या गड्याङगुडुङ गर्यो कि पानीको गाग्रो बोकेर खोलापारिको धारामा पानी लिन जानुपर्छ,’ स्थानीय मन्तोरा देवी साहले भनिन् । पानी लिन करिब एक डेढ घन्टा लाइनमा बस्नुपर्छ । जो अगाडि आयो, उसैले पहिला पानी भर्ने चलन छ । ‘हिउँदको वेलामा त सामान्य नै लाग्छ, तर वर्षात्मा भने निकैै कष्टकर जीवन बिताएजस्तो लाग्छ,’ टोम कुमारी दाहालले भनिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्