पाँच लाख घरलाई निःशुल्क कागतीका बिरुवा

काठमाडौं, असार २१ । एक वयश्क व्यक्तिलाई कति अक्सिजन चाहिन्छ ? विज्ञका अनुसार छवटा रूख बिरुवाले दिने अक्सिजन प्रतिदिन आवश्यक पर्छ तर बढ्दो जनसङ्ख्या र घट्दो वनजङ्गलले अक्सिजनको कमी हुँदै गएको छ । काठमाडौं उपत्यका मात्र होइन देशका धेरै ठाउँमा अहिले तीव्र सहरीकरण भइरहेको छ । कतिपयका घरमा रूख बिरुवा छैनन् । बढ्दो सहरीकरण, वनविनाश अनि खेतीयोग्य जमिन बाँझै रहने क्रम तीव्र हुनाले मानिसलाई अक्सिजन कमी हुँदैछ ।

यसैक्रममा सकारात्मक सोचसहित केही उत्साही युवा जमात ‘प्रकृति संरक्षण समाज’ नामबाट प्रदूषणविरुद्धको सचेतना अभियानसँगै कौसीखेती (रूफ टप गार्डेन’)को अवधारणा अगाडि सारेका छन् । वि।सं। २०६४ मा लक्ष्यसहित स्थापना भएको समाजले सुरूआतको चरणमा हाल कागती बिरूवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । रुद्राक्षको बिरुवा वितरण गर्ने लक्ष्य पनि राखिएको छ ।

समाजका अध्यक्ष कुमार कटवालले वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताए । उनले रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदा र त्यसको पात, फलफूलबाट १० वर्षपछि कस्तो उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययनसमेत आवश्यक भएको बताए । नयाँ अभियानबाट कतिलाई रोजगारी दिन सकिन्छ भन्ने अनुसन्धान पनि भइरहेको अध्यक्ष कटवालले बताए ।

वृक्षरोपण मात्र गरेर हुन्न, रूख जोगाउने, त्यसबाट हुने फाइदाको समेत अध्ययन, अनुसन्धान गर्ने सोचका साथ संस्थाले काम गर्दै आएको जानकारी दिए । हाल समाजको नर्सरीमा कागती, रुद्राक्ष, बोजो, बाँस, पीपल, लालीगुराँस, रक्तचन्दन, स्न्याप, स्ट्रबेरी, अङ्गुरलगायतका २६५ वटा जातका बोटबिरुवाको अनुसन्धान भइरहेको छ ।

टोखा नगरपालिका सूर्यदर्शन हाइट, मन्डिखाटार, गोंगबुमा नसरीको स्थापना गरी काम गरिरहेका सो समूहले आमा समूह, विभिन्न सामाजिक विकास, सुधारको उद्देश्यले स्थापना भएका सङ्घसंस्थामार्फत पहिलो चरणमा ‘पाँच लाख घरधुरीलाई एक घर एक कागतीको बिरुवा प्रदान गर्ने’ लक्ष्य राखेको बताए।
आगामी पाँच वर्षभित्रमा फलफूलले ढाकेको क्षेत्रफल दोब्बर बनाउने नेपाल सरकारको नीति छ । त्यसका लागि फलफूलको बिरुवा उत्पादन र वितरण कार्यक्रम सञ्चालन गरिने लक्ष्य पनि छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्