पाकिस्तान भर्सेस बंगलादेशः अफ्रिदि, शाकिव र बाबरले बनाए यस्ता कीर्तिमान

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । शुक्रबार बंगलादेश र पाकिस्तानबीचको खेल सकिएसँगै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । विश्वकप २०१९ को सेमिफाइनलमा अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्यूजिल्याण्डले स्थान बनाउन सफल भएका छन् । पाकिस्तान बंगलादेशविरुद्ध ९४ रनले जीत हासिल गर्दा पनि सेमिफाइनल पुग्न भने असफल भयो । ३१६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४४.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

उसका लागि शाकिव अल हसनले ६४, लिटोन दासले ३२, महुमदुल्लाहले २९, सौम्य सरकारले २२, मोसाद्दिक होसैनले १६, मसरफे मुर्तुजाले १५, तमिम इकबालले ८ रनको योगदान दिए । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ९.१ ओभर बलिङ गरेर ३५ रन दिँदै ६ विकेट लिए । यस्तै सादव खानले २, वाहब रियाज र मोहम्मद आमिरको खातामा एक–एक विकेट रह्यो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर३१५ रन बनायो ।

उसका लागि ओपनर इमामउल हकले शतक बनाए । उनले ७ चौकाको मद्दतमा १०० बलमा शतक बनाएर आउट भए । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो । साथै उनले यो विश्वकपमा एक अर्धशतकसमेत बनाएका छन् । यस्तै बाबर आजम जारी विश्वकपमा शतक बनाउन ४ रनले चुके । उनले ११ चौकाको मद्दतमा ९८ बलमा ९६ रनको योगदान दिए ।

पाकिस्तानलाई विशाल लक्ष्यमा पुर्याउन इमाद वासिमले ४३, मोहम्मद अफिजले २७, फखर जमानले १३, हरिस सोहेलले ६, कप्तान सरफराज अहमदले नट आउट ३, मोहम्मद आमिरले ८, वाहब रियाजले २–२, सादव खानले एक रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, मोहम्मद सैफउद्दिनले ३ र मेहदी हसन मिराजले एक विकेट लिए ।

पाकिस्तान र बंगलादेशको खेलमा बने यस्ता कीर्तिमान
बंगलादेशविरुद्ध ९६ रन बनाएसँगै बाबर आजम (४७४) एकै विश्वकपमा सर्बाधिक रन बनाउने ब्याट्सम्यान बने । यसअघि पाकिस्तानका लागि एकै विश्वकपमा धेरै रन बनाउने खेलाडीको कीर्तिमान जावेद मियादादको नाममा थियो । उनले १९९२ को विश्वकपमा ४३७ रन बनाएका थिए ।

पाकिस्तानका १९ वर्षीय तिव्र गतिका बलर शाहिन शाह अफ्रिदीले बंगलादेशविरुद्ध ६ विकेट लिएर इतिहास रच्न सफल भए । उनले यो खेलमा ९.१ ओभरमा ३५ रन दिएर ६ विकेट हात पारे । उनी सबैभन्दा कम उमेरमा विश्वकपमा ६ लिने पहिलो बलर बनेका छन् ।

बंगलादेशका अनुभवी ब्याट्सम्यान शाकिव अल हसन विश्वकप २०१९ मा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले बंगलादेशविरुद्ध ६४ रन बनाएसँगै सर्बाधिक रन सूचीको शीर्ष स्थानमा रहेको रोहित शर्मालाई पछि पारेका छन् । शाकिवले ८ खेलमा ६०६ रन बनाएका छन् । रोहित ५४४ रन बनाउँदै दोस्रो स्थानमा छन् । उनले यो विश्वकप स्मरणयोग्य बनाए । साथै जारी विश्वकपमा शाकिवले ११ विकेटसमेत हात पार्न सफल भए । उनी विश्वकपमा ६ सय रन बढी र १० भन्दा धेरै विकेट लिने पहिलो अलराउन्डर बनेका छन् । शाकिवले एकै विश्वकपमा सात पटक ५० बढी रन बनाउने सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरेका छन् ।

कमेन्ट गर्नुहोस्