‘मोस्ट वाण्टेड’ सूचीमा रहेका बादशाह काठमाडौंबाट पक्राउ

कपिलवस्तु, असार २१ । कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ भनी चिनिने नसिम खान काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौंबाट पक्राउ गरेको हो । मायादेवी गाउँपालिका–४ पिपरा गाउँका नसिम खानमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु दर्ता गरिएका छन् ।

पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलीगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलीगढवाबाटै कपिलवस्तु जिल्ला भर खानले आफ्नो प्रभाव जमाउँदै आएका थिए । फरार सूचीमा रहेका खानमाथि सात वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ ।

पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ । उनीमाथि पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडा अध्यक्ष फतेह मोहम्मदको ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

कमेन्ट गर्नुहोस्