विषादी परीक्षण स्थगन गर्ने सरकारको निर्णयप्रति अनेरास्ववियूद्वारा गम्भीर ध्यानाकर्षण

काठमाडौं, असार २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट आयात भएका फलफूल र तरकारीको विषादी परीक्षण स्थगन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको उक्त पछिल्लो निर्णय नेपालको संविधानको धारा ३६ को खाद्यसम्बन्धी मौलिक हकको मर्म विपरीत रहेको बताइएको छ । अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा कार्यान्वयन प्रक्रियामा गइसकेको कार्यलाई तयारी नपुगेको भन्ने नाममा सरकार एकाएक पछि हटेको भन्दै आपत्ति जनाइएको छ ।

सरकारको उक्त निर्णयले सरकार र सरकारका निकायहरु प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दवाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि शक्ति केन्द्रहरुको अनुचित दवावमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पुर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्वद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौं ।’

कमेन्ट गर्नुहोस्