वडाध्यक्ष श्रेष्ठ २ घण्टा कार्यकक्षमै थुनिए

काभ्रेपलाञ्चोक, असार २१ । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिए। सडक स्तरोन्तिका लागि आफ्नानजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढंगले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्ष मै थुनिएका हुन्।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए। उनले भने, ‘वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्। हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ।’

सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिए। वडाध्यक्षसँग आक्रोशित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करिब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाए। उक्त सडकखण्डको ४०० मिटर सडकमा प्रदेश ३ सरकारको बजेटमा ग्राभेल, ड्रेन वालसहित नाली निर्माण भइरहेको छ।

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, ड्रेन वालसहित नाली निर्माण तथा ‘बिलो रकम’ करिब १९ लाखमा करिब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन्।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन्। वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए ‘छलफल गर्न’ आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालयभित्रै भएको अवस्थामा तालाबन्दी गरिएको बताए। ‘कामको सिलसिलामा कमीकमजोरी भएको हुनसक्छ। बसेर छलफल गरौँभन्दा आक्रोशित भीडले तालाबन्दी गरेर हिड्यो’, उनले भने। उनका अनुसार तालाबन्दीको दुई घण्टापछि स्थानीय प्रहरीले ताला खोलेका हुन्।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ। तिमल्सिनाले भने, ‘सडकमा प्रदेश बजेटको बिलो रकमबाट वडाध्यक्षले ग्राभेलिङ गराएका रहेछन्। उनले स्थानीयलाई आगामी बर्षको पाँचलाख बजेटबाट अहिले काम गरिएको भन्ने झुट कुरा बताउँदै आएका रहेछन्।’ वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भए मात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताए। रासस

कमेन्ट गर्नुहोस्