यसरी सुरु भयो विदेशी तरकारीमा परीक्षण

काठमाडौं, असार २२ । विषादी तरकारी तथा फलफूल उपभोगले जनस्वास्थ्यमा असर पर्ने देखेर सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूल क्वारेन्टाइन जेकजाँच गरेर आयात गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले १० जेठमा निर्णय गर्दै आयात हुने सबै तरकारी, फलफुलको बिषादी परिक्षण गरेर मात्र भन्सार जाँचपास गर्ने व्यवस्था गरेको थियो । सो निर्णयलाई २ असारमा रापत्रमा प्रकाशित गरी लागू गरेको थियो । सूचना प्रकाशित भएलगत्तै भारतलगायत विश्वभरिबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

२१ प्रयोगशाला, १२० दरबन्दी, ७६ कर्मचारी कार्यरत
झापाको बिर्तामोड, मोरङको विराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा तरकारी तथा फलफूलको विषादी परीक्षण प्रयोगशाला छ । बुटवलको प्रयोगशाला प्रयोगविहीन छ भने अन्य सुचारु छन् । काठमाडौंमा पाँच र अन्यमा चार/चारजना गरी २९ जना कर्मचारीको दरबन्दी छ । तर, बुटवलमा एक र अन्यमा दुई/दुईजना मात्र कर्मचारी छन् ।

थप १५ नाकामा क्वारेन्टाइन चेकपोस्ट छन् । त्रिभुवन विमानस्थल, काँकडभिट्टा, विराटनगर, भन्टाबारी, जलेश्वर, मलंगवा, वीरगन्ज, तातोपानी, टिमुरे, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमाथांका र झुलघाट नाकामा रहेका क्वारेन्टाइनमा बिदेशबाट आउने तरकारीमा नेपालमा नभएका रोग, किरा भित्रिएका छन् कि भनेर हेर्छन् । यी चेकपोस्टमा ९१ कर्मचारीको दरबन्दी छ, तर ६३ कर्मचारी मात्रै कार्यरत छन् । तर, नेपालमै रहेका रोग, किराबारे यहाँका मेसिनले हेर्दैन । ‘नेपालमा रहेका हानिकारक रोग, किरा रहेको आशंका भए कृषि विभागमातहतको केन्द्रीय कृषि प्रयोगशालामा परीक्षणका लागि पठाउनुपर्छ,’ प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

कमेन्ट गर्नुहोस्