भिडियो ‘डिलिट’ नगर्दा प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

सिन्धुली, असार २२ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति कुटपिट गर्दा अध्यक्ष कार्की गम्भीर घाइते भएका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिंह लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विनाकारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन् । अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ ।

पत्रकार महासंघ सिन्धुली शाखा पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताए । पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको उनको भनाइ छ । प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ । पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताइन् । यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्