Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय गाडी नाकामै जलाउने चेतावनी

काठमाडौं, असार २२ । नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक नीति तथा कार्यक्रम र सरकारसँगको मागपत्र सार्वजनिक गरेको छ । करिब भूमिगत शैलीमा आफ्नो राजनितिक गतिविधी संचालन गर्दै आएको उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

शनिबार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय निर्वाचन प्रणालीसहित हिन्दु राज्यको पक्षमा उक्त पार्टीले आफूलाई उभ्याएको छ । पश्चिमा देशप्रति गरम नीति लिएको उक्त पार्टीले चीन र भारत दुवैको नेपालमाथि थिचोमिचो रहेकाले दुवै देशसँग आवश्यकता र समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने नीति लिएको छ ।

वैधानिक विद्रोहको कार्यदिशा लिएको उक्त पार्टीले देश हितका लागी आवश्यक परे हतियार उठाउँन पनि तयार रहेको स्पष्ट पारेको छ । पार्टी नीति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गर्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले आफ्नो पार्टीको नीति नेपालमा एनजिओ आइएइजीओ बन्द गराउने रहेको बताए । उनले वैधानिक विद्रोहको कार्यदिशामा नेपालका देशभक्त सेना प्रहरीले पनि साथ दिने र उनिहरु समेतको सहयोगमा अहिलको सत्ता ढाल्ने चेतावनी पनि दिए ।

नेपालमा पनि फिजीको मोडेलको क्रान्ति गर्ने उद्घोष गर्दै ब्रम्हाण्डले अब एनसेल र चौधरी ग्रुप जस्ता कम्पनीमा मजदुरका लागि ५० प्रतिशत सेयरका लागी आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने बताए ।

नेपाललाई विभिन्न देशको खुपीया एजेन्सीहरुको मैदान बनाउन खोजिएको भन्दै उनले त्यसलाई हाम्रो पार्टी नेपालले परास्त गरेरै छोड्ने बताए । कार्यक्रममा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्राउने काम बन्द नगरे नाकामै भारतीय गाडी जलाउने उद्घोष समेत गरे ।

यसअघि विभिन्न पार्टीले पहिला भन्ने एउटा र पछि पार्टीमा पुगेपछि गर्ने अर्कै गर्दै आएकाले उक्त पार्टीले आफ्नो निति तथा कार्यक्रम घोषणा कार्यक्रममै पत्रकारलाई साक्षी राखेर नेपाली जनतालाई पासो समेत दिएको छ । साँकेतिक रुपमा प्रदान गरिएको पासोको अर्थ उक्त पार्टीले नीति कार्यक्रमभन्दा बाहिर गएर गतिविधि गरे र नेपाली जनतालाई धोका दिए जुनसुकै समय सार्वजनिक रुपमा मृत्युदण्ड दिन पनि नेपाली जनतालाई अपिल गरेको छ ।

उक्त कार्यक्रममा अध्यक्ष ब्रम्हाण्डले नीति कार्यक्रमभन्दा बाहिर गएर जनतालाई धोका दिए आफूहरुलाई बाँच्ने अधिकार नभएको भन्दै जनताले फाँसी दिएपनि आफुहरुलाई स्वीकार्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: