६२ वर्षीय पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की तेस्रो बिहे गर्दै

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ वर्षको उमेरमा तेस्रो विवाह गर्ने भएका छन् । कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन ।

बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन । टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।

कार्कीले पहिलो बिहे प्रसाईं परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गरेका थिए । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् । भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।

कमेन्ट गर्नुहोस्