नेकपामा राजनीतिक दस्तावेजमा सहमति

काठमाडौँ, असार २३ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ ।

प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्णरूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ ।’

उनले भने, ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधि कुन आधिकारिक हो, कुन नेताले के भनेको हो, कुन पार्टीको लाइन हो, कुन होइन त्यसमा ‘कन्फ्युज’ थियो । त्यो ‘कन्फ्युजन’ हटेको छ ।’ उनले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राखे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन लाग्दा एकीकरणको मूल दस्तावेज राजनीतिक प्रतिवेदन तयार गर्न तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि त्यसैको आधारमा जेठ ३ गते एकता घोषणा भएको थियो । त्यति बेला पनि राजनीतिक दस्तावेजमा केही असहमति थियो तर पछि मिलाउँदै जाने भन्दै एकीकरण घोषणा भएको थियो ।

एकीकरण भएको एकवर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पङ्क्तिबाटै आवाज उठ्न थाल्यो । त्यसपछि पार्टीको बैठकमा प्रतिवेदनको बारेमा कार्यसूचीकै रूपमा बहस हुन थाल्यो । जेठ २० देखि २२ गतेसम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि त्यसलाई उनीहरुले टुङ्ग्याएका हुन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन टुङ्गो लगाएर धेरै ठूलो काम भएको बताउँदै आउने महाधिवेशन पार्टीको एकता महाधिवेशन हुने बताए । महाधिवेशनबाट हुने नेतृत्व चयनलगायतका अन्य गतिविधि सबै सहमतिमा हुने प्रस्ट पार्दै उनले महाधिवेशनपछि जरुरी पर्दा पार्टीभित्र प्रतिस्पर्धा हुनसक्छ तर महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारे । उनले पार्टी एकीकरण हुँदा नै यस्तो सहमति भएकोसमेत स्मरण गराए ।

उनले पार्टीको एकता अझै पूर्ण नभएको, अझै सङ्क्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै कर्मचारीको यो एकता महाधिवेशनले एकीकरण टुङ्ग्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्