नेकपामा माधव नेपालको मौनता !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई जना अध्यक्षबीच सैद्धान्तिक बहसले पछिल्ला केही साताहरु चर्चामा रहे । खासगरी पार्टी एकीकरणको बेला भएको सहमतिका बारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले व्यक्त गरेका विचारले पार्टीभित्र ठूलै बहसको सिर्जना गर्यो ।

यसका साथै तत्कालिन अवस्थामा माधव नेपालको नेतृत्वमा गठित समितिले तयार पारेको राजनीतिक परिवर्तनमा समेत अध्यक्ष ओलीले असहमति व्यक्त गरेपछि यसबारेमा पनि चर्को बहस सिर्जना भयो ।

सार्वजनिकरुपमा नै दुबै अध्यक्षबीच राजनीतिक प्रतिवेदन र सहमतिका बारेमा ओली र प्रचण्ड समर्थकहरु बहसमा उत्रिए । तर अचम्मको कुरा, यो समग्र प्रक्रियामा निर्णायकरुपमा रुपमा रहेका नेता माधव नेपाल भने यो अवधिमा मौन रहे । जबकि राजनीतिक प्रतिवेदनको अन्तिम टुंगो उनले नै लगाएर दुबै अध्यक्षलाई प्रकाशनका लागि सिफारिस गरेका थिए ।

पूर्व एमालेभित्र स्पष्ट समूहसहित बलियो अस्तित्व कायम राख्द सफल नेता हुन माधव नेपाल । सैद्धान्तिकरुपमा केपी ओली भन्दा साररुपमा भिन्न नभएपनि संगठनात्मक कार्यशैलीका सवालमा भने उनको ओलीसँग चर्को मतभेद रहँदै आएको छ । एमाले एकल पार्टी छँदा समेत माधव नेपाल र उनका समर्थकहरुले ओलीविरुद्ध चर्को आलोचना गर्थे । अहिले समेत सरकार या केपी ओली पक्षको कडा आलोचना उनीहरुले गर्दै आएका छन् । तर पछिल्लो बहसमा भने माधव नेपाल चुप लागे । यो मौनतालाई कतिपयले निकै महत्वपूर्णरुपमा लिएका छन् ।

वैचारिकरुपमा माधव नेपाल र केपी ओली दुबै एउटै वैचारिक स्कूलका विद्यार्थी हुन । यसअर्थमा बहुदलीय जनवादको प्रश्न या नेपाली समाजका कतिपय मुद्दाहरुमा उनी केपी ओलीसँग समानता राख्छन् । जस्तो बहुदलीय प्रतिष्पर्धासहितको संसदीय व्यवस्था नै साध्य हो भन्ने सवालमा, जातीय या क्षेत्रीय उत्पीडन र मुक्तिको विषयमा, संघीयताको विषयमा उनीहरुबीच मतैक्यता नै देखिन्छ । यता माओवादी भने उग्र क्रान्तिकारी स्कूलबाट आएको हुँदा उसका लागि यथास्थितिबाट अघि बढने, धक्का दिने, संसदीय व्यवस्थालाई नै अहिलेकै स्वरुपमा नस्वीकार्ने एजेण्डाले महत्व राख्दछ । यद्दपी यो कुरा बिस्तारै सम्झौतामा रुपान्तरण हुँदै गएको भने आम आलोचना नभएको होइन ।

यो स्थितिमा माधव नेपालको मौनताले दुईवटा कुराको संकेत गर्दछ । पहिलो कुरा, वैचारिकरुपमा उनी केपी ओलीसँग वैमनस्यता बढाउन चाहँदैनन र भोली महाधिवेशनमा जाँदा समेत बहुदलीय जनवादमाथि नै केन्द्रित भएर नयाँ कार्यदिशा निर्माणका लागि लबिङ गर्ने देखिन्छ । उनको समूहका कतिपय नेताहरुले अहिलेको वर्तमान विश्व र राष्ट्रिय परिस्थिति हेरेर कार्यदिशा निर्माण गर्न जोड दिइरहेपनि उनी त्यति अगाडि जान खोज्ने देखिन्न । अर्को कुरा, कार्यशैली र कार्यनीतिक मुद्दामा भने उनी प्रचण्डसँगै उभिने स्पष्ट संकेत अहिलेको मौनताले देखाएको छ । अहिलेको मौनता वैचारिकरुपमा ओली र कार्यशैलीगत सवालमा प्रचण्डलाई समर्थन पनि हो । त्यसैले भोलीका दिनमा संगठनभित्रका कतिपय रणनीतिक या कार्यनीतिक सवालमा उनले प्रचण्डसँग कार्यगत एकता गर्न सक्छन् । सरकार निर्माण या अन्य विषयमा उनी र प्रचण्डबीच समानता बढदै जाने देखिन्छ ।

नेकपा भित्र माधव नेपाल समूह एउटा बलियो समूह हो । विगतका इतिहास हेर्दा ओली समूहसँग उसको निकै बढी कटुता देखिन्छ । त्यो अर्थमा पनि संगठन निर्माणका विषयमा पूर्व माओवादीसँग उनीहरुको सामिप्यता बढन सक्छ । तर यो समूहको चरित्र अस्तित्ववादी भएको कारणले आफ्नो अस्तित्वको रक्षा र विकास नै कुनै पनि समूहसँग उनीहरुको संगतका लागि पहिलो शर्त बन्ने देखिन्छ ।

नेकपाभित्र देखिएका तीनवटा स्पष्ट धारले पार्टीभित्र महाधिवेसनसम्म पुग्दा गम्भीर वैचारिक र संठनात्मक बहसले जन्म लिने स्पष्ट देखाएको छ । यो बहस दुईवटा भिन्न कम्युनिष्ट स्कूल अफ थाउटबीच पनि हो । नेपाल कम्युनिष्ट आन्दोलनमा उत्तर र दक्षिण उभिएका दुई कम्युनिष्ट बीचको यो एकताले नयाँ संश्लेषणसहितको कम्युनिष्ट पार्टीको निर्माण गर्न सक्ने सम्भावना समेत बलियोरुपमा नै छ ।

कमेन्ट गर्नुहोस्