‘मोस्ट वान्टेड’ बादशाह पक्राउप्रति नेकपाद्वारा आपत्ति

कपिलवस्तु, असार २४ । प्रहरीको रेकर्डमा ‘मोस्ट वान्टेड’ नसिम अहमद खाँ ‘बादशाह’ लाई पक्राउ गरिएकामा नेकपा जिल्ला कमिटीले आपत्ति जनाएको छ । दलका जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहले विज्ञप्ति जारी गरेर उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । मायादेवी गाउँपालिका–४ का उनी पिपराको पार्टी संगठित सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ । उनीसहित तत्कालीन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य) समूहका सबैले नेपालको संविधान स्वीकार गरेका थिए । उनीहरूले हतियार बुझाएर सरकारसँग सम्झौता गरी सामान्य जीवन बिताउने इच्छा जाहेर गरेका थिए ।

सरकारद्वारा गठित आयोग र समितिसमक्ष शान्तिपूर्ण जीवनयापन गर्ने धारणा राख्दै आएका बेला प्रहरीले पुराना राजनीतिक मुद्दा ब्युँताउनु दुःखद भएको विज्ञप्तिमा जनाइएको छ । ‘तत्काल सबै मुद्दा फिर्ता लिएर खाँलाई रिहा गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । उनी शनिबार बिहान काठमाडौंमा पक्राउ परेका थिए । प्रहरीले आइतबार तौलिहवामा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।

‘पार्टीको कार्यकर्ता बचाउने नीति हुन्छ,’ एसपी दीपशमशेर जबराले भने, ‘त्यसैको कडीस्वरूप विज्ञप्ति आएको हो ।’ प्रहरी रेकर्डमा उनीविरुद्ध धेरै मुद्दा रहेको जबराले जनाए । उनका अनुसार अदालतबाट वारेन्ट जारी गरिएकाले पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । जिल्लास्थित अधिकारकर्मीले अपराध पुष्टि भएको खण्डमा कारबाही हुनुपर्ने बताएका छन् । ‘तराईमा सशस्त्र संघर्षरत समूहमा क्रियाशील रहेका बेला भएका घटना राजनीतिक थिए होलान्,’ अधिकारकर्मी रवि ठाकुरले भने, ‘तर, पछिल्ला घटना आपराधिक क्रियाकलापका हुन् ।’

नागरिक समाजका सल्लाहकार भक्तिराम पन्थीले आपराधिक क्रियाकलापमा संलग्न भएकाले कानुनअनुसार कारबाही हुनुपर्ने बताए । ‘नत्र समाजमा गलत काम गर्नेले प्रोत्साहन पाउँछन्,’ उनले भने, ‘समाजमा अराजकता बढ्छ ।’ नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईंले घटना विस्तृत रूपमा अध्ययन नगरेकाले छिटो बोल्नु हतार हुने बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्