पूर्वयोजना अनुसार नै रंगशाला निर्माण सुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसन आग्रह

चितवन, असार २४ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवनले रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनलाई आव्हान गरेको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनलाई आव्हान गरिएको हो ।

डल्लाकोटी र दाहालद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, नीजि क्षेत्रका प्रमुख, सामाजिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियान्ता, क्रियाशील व्यक्तित्व र आम चितवन तथा देशभरका जनसमुदायको उत्साहपूर्वक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइन्छ ।’

निर्माण कार्यलाई अगाडि बढाउन चितवनबाट निर्वाचित जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, गैरसरकारी संघ–संस्थाका प्रमुख, निजी क्षेत्रका प्रमुख, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वको सक्रिय सहभागिता हुने गरी ५००१ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञसहितको १७ सदस्यीय अनुगमन उप–समिति गठन गर्ने, निर्माण कार्यको लागि घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिकामार्फत पहल गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्