बिहेअघि एचआईभी परीक्षण अनिवार्य हुने

 

पणजी । भारतको गोवा राज्यले विवाहअघि एचआईभी परीक्षण अनिवार्य गर्ने भएको छ । गोवाका स्वास्थ्यमन्त्री विश्वजीत राणेले युगल जोडीहरुलाई विवाह अघि एचआइभी परीक्षण अनिवार्य गर्ने योजना बनिरहेको बताएका हुन ।

सरकारले अनिवार्य परीक्षणका लागि कानुन ल्याउने तयारी गरेको उनले बताए । अहिले विवाह दर्ता गर्नुअघि चाहिँ अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ । स्वास्थ्य मन्त्रालयको कानुन शाखालाई विधि विभागबाट कानुन बनाउने मन्जुरी पाएपछि आगामी मन्सून सत्रमा यसलाई विधानसभामा प्रस्तुत गर्न सकिने उनले बताए । वर्ष २००६ मा समेत तत्कालिन कांग्रेस सरकारले यस्तै प्रकृतिको कानुनको निर्माण गरेपनि बिभिन्न पक्षले त्यसको बिरोध गरेका थिए ।

भारत दक्षिण अफ्रिकापछि एचआईभी संक्रमणमा दोश्रो ठूलो देशका रुपमा रहेको छ ।

भारतका अन्य राज्यमा भने एचआईभीको अनिवार्य परीक्षणको कानुन बनेको छैन । कतिपयले व्यक्तिगत स्वतन्त्रतामाथि हमला भन्दै यसको बिरोध गरेका छन् । तर अनिवार्य परीक्षणबाट लाखौं व्यक्तिको जीवन जोगिन सक्ने भन्दै यसका पक्षधरले कानुनको समेत वकालत गर्दै आएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्