४ औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत ल्याउन माग

हेटौँडा, असार २५ । प्रदेश नं. ३ सरकारले प्रदेशमा रहेका औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेको छ ।

औद्योगिक क्षेत्रहरूको व्यवस्थापन प्रभावकारी नभएको भन्दै प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सरकारअन्तर्गत रहने गरी हस्तान्तरण गर्न माग गरेको हो । प्रदेश नं.३ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत हाल हेटौँडा, बालाजु, पाटन र भक्तपुर गरी ४ वटा औद्योगिक क्षेत्र रहेका छन् ।

सङ्घीय सरकारको स्वामित्वमा रहेका ती औद्योगिक क्षेत्रहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरिएको प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरू प्रदेश सरकारको जिम्मामा आउने गरी हस्तान्तरण निर्णय गरी प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ ।
औद्योगिक क्षेत्रमा रहेका जग्गा, व्यवस्थापनलगायतका समस्या समाधान गरी प्रभावकारी सञ्चालन गर्न औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत आउनुपर्ने बताउँदै मन्त्री नेपालले भने, प्रदेश सरकार दुईवटा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको तयारीमा छ ।

प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुली जिल्लाको मरिण औद्योगिक क्षेत्र स्थापनाको तयारी गरेको हो । प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्न आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको सरकारले औद्योगिक क्षेत्र नभएको निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्दै जाने नीति लिएको छ । दुई औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्न १२ करोड रुपियाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै औद्योगिक ग्राम क्षेत्रमा पूर्वाधार निर्माण गर्न तीन करोड रुपियाँ र हेटौँडा औद्योगिक क्षेत्रमा पूर्वाधार विकास गर्न एक करोड ५० लाख रुपियाँ प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी विनियोजन गरेको छ । साथै औद्योगिक कोरिडोरको विस्तृत परियोजना अध्ययन एवं पूर्वाधार निर्माण गर्न तीन करोड रुपियाँ छुट्ट्याइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत हाल देशका विभिन्न जिल्ला ११ वटा औद्योगिक क्षेत्र रहेका छन् । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्