शिवपुरी धाम बाल उद्यानको गुरुयोजना तयार

धनगढी, असार २५ । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम बालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ ।

शिवपुरी धामलाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम बाल उद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधबार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ । ड्रिम प्लानर इञ्जिनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिनादेखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरुयोजना बनाएको थियो ।

धनगढी उप–महानगरपालिकामा पटक पटक छलफल र त्यसबाट आएका सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन पेश गरेको उक्त कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टले बताए । गुरु योजनामा पार्किङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

मन्दिर क्षेत्रको गुरु योजना यसअघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए । संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख ३५ हजार बजेट आवश्यक हुने परामर्शदाता भट्टले बताए । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।

कमेन्ट गर्नुहोस्