देशभर मनसुन सक्रिय

काठमाडौं, असार २५ । मुलुकभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा बुधबार वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद राजु प्रधानाङगका अनुसार पुर्वी, मध्य र पश्चिमी भेगका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको उनको भनाई छ । मूलुकको दक्षिणी क्षेत्रबाट न्यून चापिय रेखा नेपालमा प्रवेश गरेसंगै मनसुन सक्रिय भएको हो । यो प्रक्रिया केही दिन जारी रहने भएकाले किसानले यही समयमा धान रोपाईंमा जोड दिनुपर्ने उनले बताए ।

वर्षा भएसंगै तराईका किसानले केही राहत महसुस गरेका छन् । नेपालमा जेठको अन्तिमदेखि असोज पहिलो सातासम्म मनसुन सक्रिय हुने गर्दछ । यसपटक भने ढिला मनसुन सक्रिय भएकाले अधिकांश क्षेत्रमा किसानले मुख्य बाली धान रोपाईं गर्न पाएका छैनन् । मनसुन केही दिन जारी रहने भएकाले सोही अवधिमा धान रोपाईं गर्न सकिने पनि मौसमविद प्रधानाङगको भनाई छ ।

मनसुन सक्रिय भएकै कारण काठमाडौं उपत्यका आसपासका क्षेत्रमा मंगलबारदेखि वर्षा भइरहेको छ । लगातार वर्षा हुने भएकाले नदी, किनार, तटीय क्षेत्र, खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र पहिरोको जोखिममा रहेकालाई सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ । वर्षाको क्रम केही दिन जारी रहने भएकाले ठुला नदी किनारमा बसोबास गर्नेलाई पनि सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्