Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्यार्थी सिट संख्या तीन सयः भर्ना १०,८६८

काठमाडौं, असार २६ । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको कानुन शिक्षा अध्ययन गर्नेहरूको संख्या अध्यधिक बढेको छ । एलएलबीमा अधिकतम तीन सय क्षमता रहेको नेपाल ल क्याम्पसमा प्रथम वर्षमा १० हजार आठ सय ६८ भर्ना भएका छन् । एलएलबी प्रथम वर्षका करिब ११ हजारले परीक्षा दिएर दोस्रो वर्षमा प्रवेश गर्दै छन् । तर, अब कति भर्ना लिने भन्ने अन्योल थपिएको छ ।

क्षमताभन्दा अध्यधिक बढी भर्ना लिएको र गुणस्तर नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि कति संख्यामा नयाँ भर्ना गर्ने भन्ने अन्योल छ । नयाँ भर्नाका लागि प्रवेश परीक्षाको फारम भर्दै गर्दा सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले भर्ना क्षमता यकिन गरी सीमित संख्यामा भर्ना गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि ल क्याम्पसले अध्ययन कमिटी बनाएको थियो । सो कमिटीले समावेशी कोटासहित एलएलबीमा तीन सय भर्ना गर्न उचित हुने सिफारिस गरेको थियो । क्याम्पस प्रमुख डा। डिएन पराजुलीले कति संख्यामा भर्ना गर्ने र अब प्रवेश परीक्षाको आवेदन खुलाउने वा नखुलाउने भन्ने विषयमा कार्यकारी परिषद्को निर्णय पर्खेको बताए । यसअघि खुलाएको प्रदेश परीक्षामा करिब २६ सयले आवेदन फारम भरेका छन् । नेपाल ल क्याम्पसका प्रमुख पराजुलीका अनुसार एलएलबीमा पूर्वश्रममन्त्री सरिता गिरी तथा अन्य नेताहरूसमेत भर्ना भएका छन् । कानुनतर्फ स्नातक तहमा बिएएलएलबी र एलएलबी गरी दुईथरी कार्यक्रम छन् । स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकेपछि जनप्रतिनिधि कानुन शिक्षा लिन भर्ना हुने संख्या धेरै छ । गाउँपालिका, नगरपालिकामा न्यायिक समिति छन् । स्थानीय तहका उपाध्यक्षहरूलाई कानुनी ज्ञान हुनु अनिवार्यजस्तै भएको छ । नेपाल ल क्याम्पसमा झन्डै दुई सय स्थानीय तहका उपाध्यक्षले एलएलबी पढ्न आएको क्याम्पस प्रमुख पराजुलीले बताए ।

भर्ना हुने संख्या धेरै भए पनि नियमित पढ्न आउने र परीक्षा दिनेको संख्या एकदमै न्यून छ । विद्यार्थी नियमित रूपमा पढ्न आउने हो भने तीन सयलाई पनि सेवा दिन मुस्किल हुने बताए । धेरै विद्यार्थीले जाँचसमेत नदिएको उनले बताए । सुरुमा केही विद्यार्थी अध्ययन गर्न आए पनि पछिल्ला दिनमा कम हुँदै गएको बताए । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: