कम्तिमा तीन दिनसम्म वर्षा जारी रहने, केही ठाउँमा बाढीपहिरोको जोखिम

काठमाडौं, असार २६ । यतिबेला देशका प्रायः सबैजसो ठाउँमा पानी परिरहेको छ। कतिपय ठाउँमा भारी वर्षा हुने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आउने तीन दिनसम्म नेपालका सबैजसो भूभागमा लगातार वर्षा हुने सम्भावना छ।

कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई होसियारी अपनाउन उनले सुझाब दिए। आज (बिहीबार) देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा भारी वर्षाको सम्भावना छ,’ रिमालका अनुसार, ‘पश्चिमका पनि एक दुई ठाउँमा भारी वर्षा हुनसक्छ।’ नेपालको पूरै भूभागसहित भारतको उत्तर प्रदेशका सबैजसो ठाउँमा अहिले पानी परिरहेको छ। मनसुनी वायुले पूरै ढाकेको छ।

देशैभरी मनसुनी वायु सक्रिय रहे पनि कुनै ठाउँ विशेषलाई मात्रै तोकेर भारी वर्षा हुने र नहुने भनेर तोकेर भन्न नसकिने उनको भनाइ छ । सबैतिर मनसुनी बायु सक्रिय रहे पनि पानी सबैतिर एकनासले भने नपर्ने उले बताए। ‘भूबनोटले पनि वार्षामा प्रभाव पार्छ,’ रिमालले भने, ‘नेपालको सन्दर्भमा ठूला पहाडको उत्तरतिरभन्दा दक्षिणी क्षेत्रमा बढी वर्षा हुन्छ।’

मनाङ, मुस्ताङमा कम पानी पर्ने गरेको उदाहरण दिँदै उनले ठूला हिमाल र पहाडले मनसुनी वायुलाई छेक्ने भएकाले ठूला पहाडको उत्तरपट्टी कम पानी कम पर्ने गरेको बताए। अहिले भइरहेको वर्षा कम्तिमा पनि अबको तीन दिनसम्म नरोकिने रिमालले बताए। ‘यसबीचमा कतिपय ठाउँमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ,’ उनले भने।

वर्षाको बेला बाढी पहिरो जाने सम्भावना रहेका ठाउँका नागरिक सतर्क रहनुपर्ने उनको सुझाब छ। काठमाडौं उपत्यकामा गएको २० घन्टामा १३।५ मिलिलिटर वर्षा भएको छ।

२६ गते बिहीबार
देशका अधिकांश भू भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक–दुई स्थानमा र मध्य र पूर्वी नेपालका थोरै स्थानमा भारि वर्षाको संभावना।

२७ गते शुक्रबार
देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।

कमेन्ट गर्नुहोस्