Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय सेनाको जागिर छाडेर बाख्रापालन

स्याङ्जा, असार २६ । वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । विदेश पसिना बगाएर फर्किएपछि युवाले गाउँकै माटो रोजेका छन् । चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्छ । भारतीय सेनामा ७ वर्ष बिताएका खाँण अहिले बाख्रापालन व्यवसायमा रमाइरहेका छन् ।

भारतीय सेनामा काम गरेर अवकाश लिएका उनले लण्डनमा ७ वर्ष बिताए । स्वदेश फर्केर केही समय ठेक्कापट्टाको काम गरे । त्यसलाई पनि छाडेर २०७० सालदेखि १० लाख रुपैयाँ लगानी गरेर ३० वटा बाख्राबाट बाख्रापालन व्यवसाय शुरु गरे

अहिले उनको फार्ममा झण्डै १०० माउ बाख्रा र ५० पाठापाठी छन् । बाख्राका लागि चार रोपनी जमीनमा खोर बनाएका छन् । भने, ६० रोपनी जमीनमा बाख्राका लागि आवश्यक पर्ने डाले घाँस लगाएका छन् ।

खाँणको फार्ममा अष्ट्रेलियन र अफ्रिकी जातका ८० प्रतिशत बोयर बाख्रा रहेका छन् । महीनामा ८० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने गरे पनि बजारको समस्या रहेको उनले बताए । त्यसैगरी, वालिङ नगरपालिका–१० ढकाल डाँडाका ४२ वर्षीय रुकमांगत ढकालले २०७४ साल कात्तिकदेखि ३ लाख रुपैयाँको लगानीमा २० वटा बाख्राबाट यो व्यवसाय शुरु गर्नुरेका हुन् । अहिले उनको फार्ममा ५६ वटा बाख्रा छन् ।

वैदेशिक रोजगारीमा १९ वर्ष बिताएका ढकालले विदेशमा सोचे जस्तो कमाइ नभएपछि आफ्नै गाउँघरमा फर्किएर बाख्रापालन थालेको बताए । ‘विदेशमा गर्ने दुःख यहीँ गर्दा राम्रो आम्दानी लिन सकिँदो रहेछ, अहिले मैले एक वर्षमा ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेको छु,’ उनले भने, ‘आम्दानी अझै बढी लिन सकिने थियो तर, हामीले उत्पादन गरेका खसीबोकाको राम्रो भाउ पाइँदैन,मूल्य एउटै छ, खसीबोकाको लागि खुवाउने दानाको भने वर्षै पिच्छे मूल्य बढ्छ ।’ उनका अनुसार बाख्रालाई समय समयमा पी पी आर खोरेतको सूई लगाउने गरेमा कुनै समस्या आउँदैन ।

भीरकोट नगरपालिका–८ ओकादीका कृषक चोकबहादुर गुरुङको फार्ममा अहिले ६५ वटा बाख्रा छन् । वि.सं २०७१ मा ६ वटा बाख्राबाट उहाँले यो व्यवसाय शुरु गरेका हुन् । स्वीट्जरल्याण्डको सानन जातको बाख्रा पाल्दैआएका उनी सोही गाउँका दिलबहादुर गुरुङ मिलेर बाख्राको दूधबाट चिज उत्पादन गर्ने र साबुन बनाउने तयारीमा लाग्नुभएको छ । वि.सं २०७० देखि १२ वटा बाख्राबाट व्यवसाय शुरु गरेका दिल बहादुरका ६८ वटा बाख्रा भए ।

गुरुङ द्वय बाख्रापालनलाई उद्योगका रुपमा सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । सानन जातको बाख्राले राम्रो दूध दिने भएकाले भदौ महीनादेखि दूधबाट नुहाउने साबुन बनाएर बिक्री गर्ने योजनामा रहेको उनीहरुले बताए ।

अहिले वर्षमा पाँच–छ लाख रुपैयाँ कमाइ भए पनि उद्योग सञ्चालनमा आएपछि राम्रो आम्दानी लिन सकिने चोक बहादुर आशावादी छन् । वालिङ नगरपालिका–१४ माथिल्लो पेखुका ४७ वर्षीय जीवन खाँणले पनि २०६९ सालदेखि ५० हजार रुपैयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे र अहिले उनको वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म पुग्छ । बोयर जातको बाख्रा पाल्दैआउनु भएका खाँणले वास्तविक किसानले सहज रुपमा सेवा सुविधा नपाएको र टाठाबाठाले मात्रै पाउँदैआएको गुनासो गरे ।

वालिङ नगरपालिका–६ की सीता भण्डारीले दुई वर्षदेखि बाख्रापालन व्यवसायबाट हुने आम्दानीबाटै घर खर्च चलाउँदै आएकी छिन् । खेतीकिसानी सँगसँगै पनि यो व्यवसाय गर्न सकिने भएकाले आफूले खेतबारीको कामसँगै बाख्रा पाल्दै आएको उहाँले बताउनुभयो । उहाँको वर्षमा डेढ÷दुई लाख आम्दानी हुन्छ ।

बाख्रापालन व्यवसायमा लागेकाहरु अधिकाँश वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् । बाख्रापालन गर्न चाहने युवाका लागि नमूना बाख्रा गाउँ अभियान प्रेरणाको स्रोत बनेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: