छोरासँग निरकुमार राईको त्यो अन्तिम भेट

काठमाडौं । ७ अंकलाई लक्की अंक मानिन्छ । त्यसैले अंग्रेजीमा भनिन थालियो– ‘लक्की सेभेन ।’ तर यही उमेरमा हाँसखेल गरिरहेका आशिषको हकमा यो उमेर अनलक्की ठहरियो । यही वयमा समयले उनको जीवनलाई ‘टुहुरो’ मा अनुवाद गर्यो । आशिष आमासंग हाँसखेल गर्दै हुर्किरहेका थिए । साथीभाइसंग स्कुलमा पढिरहेका थिए । छोरालाई पढाउन आमा इन्द्रकला गाउँबाट सदरमुकाम भोजपुर झरेकी थिइन् । बाबु निरकुमार राईले अंगाल्दै आएको राज्यसत्ता विरुद्धको क्रान्ति, सामन्तवाद विरुद्धको लडाईंजस्ता विषय र आशिषको बचपनमा कुनै साइनो थिएन । आखिर घिउ नलाग्ने क्रान्तिले दुई नेपाली दाजुभाइको ज्यान लियो ।

राज्यले एउटा भाइलाई अपराधी करार गर्यो । अर्को पक्षले अर्को भाइलाई अपराधी ठहरायो । वक्तव्यवाजी भए । आफू अनुकूल सामाजिक सञ्जाल रंगिए । समाचार पढ्दा लाग्छ– त्यहाँ माओवादी र पुलिस मारिएको छ । मान्छे मारिएको छैन् । गोलीले काया छेडेर निकालेको त्यो रगत जीवनदायी रस नभएर मानौं ढल चुहेको थेगर हो ।

मरेको भोलिपल्ट दुईदिन भने झैं दिन औपचारिकतामा वित्न शुरु भयो । खोइ, एकैछिनको उन्मादले टुहुरा भएका ३ नाबालकको कथा कस्ले लेख्ने ? सिउँदो उजाडिएका ती अवोध महिलाको सामाजिक सुरक्षा कसले हेर्ने ? बृद्ध आमाबाबुका टेक्ने लौरो बनेका काँध विना कारण ढल्दा डाँडापारीका घामको सुरक्षा दायित्व कसले लिने ? माओवादीले बोक्ने क्रान्ति र पुलिसले बोक्ने शान्तिको पेस्तोलले दिने परिणाम भनेको जीवनको विसर्जन नै हो । कुन स्वार्थको खपतका लागि कसैको इमान्दार प्रयास देखिदैन् । दुई तिहाईको सरकार चलाउने कम्युनिष्ट । कम्युनिष्ट सरकारलाई शत्रु ठानेर त्यस विरुद्ध बन्दुक उठाउने पनि कम्युनिष्ट । आखिर कुन रसायनका कारण यस्तो अन्तरविरोधको भाइरसले राजनीति बिटुलिँदैछ ?

इन्द्रमायाको मनमा हरपल खतराको घण्टी बजिरहन्थ्यो । छोरा र उनी डेरा गरेर बसेपनि पतिसंगको सम्बन्धका कारण पुलिसको निगरानी आफ्नो परिवारमा परिरहेको छनक उनले पाइरहेकी थिइन् । बुधबार विहान अनायास पति निरकुमारको फोन आयो । छोरासंग भेट्न इच्छा भएको बताए । इन्द्रमायाले सुरक्षाको कारण देखाउँदै आफूहरु ठीक रहेको भन्दै भेट्न अनिच्छा देखाइन् । ओखलढुंगा कार्यक्षेत्र रहेका पति भोजपुर रहेको समेत उनलाई पत्तो थिएन । एकाएक निरकुमार कोठामा टुप्लुक्क झुल्किए । एकैछिन भेटघाट भलाकुसारी भयो । उनले आफू प्रहरी निगरानीमा रहेको बताए ।

इन्द्रमायाले तत्काल कार्यक्षेत्रमा जान भनिन् । तर निरकुमारले ढाड्स दिँदै भनेका थिए– ‘मलाई केही हुन्न । यदि मरियो भने पनि देशका लागि मर्ने हो ।’ इन्द्रमायाले भनिन्– ‘अनि छोराको भविष्य चाहिँ ?’ निरकुमारले ढाड्स दिए– ‘चिन्ता गर्नै पर्दैन् ।’ कहिलेको गाली, कहिलेको बोली भनेजस्तै भयो । त्यसो भनेको केही समयपछि गाइँगाइँ गुइँगुइँ चल्न थाल्यो । इन्द्रकला भीड भएतिर दौडिइन् । दुईवटा शव रक्तमुछेल अवस्थामा थिए ।

भीडले उनीप्रति प्राथमिकतापूर्वक सान्त्वना दिँदै अगाडि बढ्न संकेत गर्यो । पहिलो शब उत्तानो परेको अवस्थामा थियो । त्यो छोडेर घोप्टो परेको दोस्रो शबमा के आँखा पुगेको थियो, उनको जमिन भासियो । पृथ्वी घुम्यो । त्यो शव पति निरकुमारको थियो । केही समयअघि आफूले पतिलाई दिएको सल्लाह नमान्दा भोग्नुपरेको विभत्स पीडाले उनलाई अब जिन्दगीभर शूल बनेर भत्भति पोलिरहने छ । छोराको भविष्यले गाँजिरहने छ । बाउसंग छोरा, छोरासंग बाउ अनि पतिसंगको त्यो अन्तिम भेटले कसले के जित्यो थाहा छैन, उनले जिन्दगी हारिन् ।

इन्द्रमायाको अन्तिम इच्छा छ, सिउँदोमाथि खेलबाड बन्द होस् । यो क्रमको निकास खोजिएन भने समस्या समाधानको चुरो फेला पार्न कठिन पर्नेछ । उनी भन्छिन– ‘प्रतिबन्ध लगाएर नभई सरकारले समस्याको समाधान खोजोस् । मेरो जस्तो नियति अरु दिदीबहिनी भोग्न नपरोस् ।’ नेपाल आजबाट

कमेन्ट गर्नुहोस्