महोत्तरीका नदीमा जलस्तर बढयो, तटबन्ध जोगाउन सुरक्षाकर्मी परिचालन

जलेश्वर, असार २७ । दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले महोत्तरीको रातो, बिग्ही, माढा, जँघा, भब्सीसहितका नदिमा जलस्तर बढेको छ । जसका कारणले बाँधहरु भत्काउने खतरा बढेको छ । महोत्तरी जिल्लाको रातो नदिले बलवा नगरपालिका वडानं। ११ को भलनीमा तटबन्ध भत्काउने खतरा बढेपछि जिल्ला विपद व्यवस्थापन समितिले तत्कालै सुरक्षा निकाय परिचालन गरेर मरम्मतको काम थालेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितलाई परिचालन गरेर तटबन्ध कटान रोक्ने प्रयास थालिएको बताए । उनले तटबन्ध कटान रोक्नको लागि बाँस तथा बोरामा बालुवा हालेर प्रयास थालिएको बताए । उनले प्रकोपभन्दा अगाडी नै आफुहरु ‘सर्च एण्ड रेस्क्यू’को लागि सबै सरोकारबालाहरुलाई यथास्थितीमा राखि सकिएको बताउनुहुदै प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरणको लागि हरसम्भव प्रयास थालिने वताए ।

रातु र बिग्ही नदिको छेउछाउमा रहेको भङ्गहा, बलवा, लोहारपट्टी, बर्दिबास, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकालाई प्रकोपको क्षतिबाट न्यूनीकरणको लागि ‘सर्च एण्ड रेस्क्यू’को तयारी अवस्थामा राखिएको छ । हरेक दिन साँझ प्रमुख जिल्ला अधिकारी आफैले मौसम सम्बन्धी जानकारीहरु सार्वजनिक सञ्जालमा राखेर सबै सरोकारबाला निकायहरुलाई तयार रहन निर्देशन दिइरहेका छन् ।

बाढीबाट जिल्लामा कहिकतै क्षतिको जानकारी नआएपनि अहिले स्थानीयतहरुले गरेको विकासे निर्माणको कारणले भने सयौ घरमा पानी पसेको छ । घरभन्दा सडक माथि भएको कारणले जिल्लाको धेरै नगरपालिका र गाउँपालिकाहरुमा रहेका घरहरुमा पानी पसेको छ ।

जलेश्वर नगरपालिका–४ का सुर्यकिशोर लाल कर्णले दुई दिनदेखि परेको पानीको कारणले घरमा पानी पसेको बताउनुहुदै अहिलेका स्थानीय तहका प्रमुखको लापरवाहीका कारण यस्तो भएको बताए । स्थानीय तहका पदाधिकारीले क्षतिको आँकलन नै नगरी जथाभावी रुपमा नाला नै नबनाई सडक ढलान गरेको कारणले घरमा पानी पसेको देखिएको छ ।

अहिले पनि पानी पर्ने क्रम जारी रहेकोले सबैलाई सचेत रहन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । साथै त्यस्तो कुनै सूचना प्राप्त भएमा सुरक्षाकर्मीलाई सम्पर्क गर्न समेत भनिएको छ ।

कमेन्ट गर्नुहोस्