देशैभर बाढी र पहिरोः ८ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं, असार २७ । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि ८ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर ४ जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएर भोजपुरमा २ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको ज्यान गएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–१, मा पहिरोले एउटा गुडिरहेको कार परेको छ । कारमा रहेका व्यक्तिको उद्दार गरिएको छ । ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारी साधन । तस्विरः रासस

कमेन्ट गर्नुहोस्