अदालतको आदेश लगत्तै क्रान्तिकारीका जिल्ला अध्यक्ष पुनः पक्राउ

कैलाली, असार २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कैलालीका जिल्ला अध्यक्ष बबरजंग सिंह फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरे पनि उनलाई जिल्ला अदालत कैलालीबाट निस्केको केही समयमा प्रहरीले फेरि पक्राउ गरेको हो ।

सिंहलाई धनगढी उपमहानगरपालिकाको जुगेडाबाट पक्राउ गरेको सिंहकी पत्नी जयलक्ष्मी बमले जानकारी दिइन् । उनका अनुसार जगुेडाबाट पक्राउ गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्याएर पनि मोटरसाइकलमा बसाएर अन्यत्र लगेको छ ।

सिंहलाई प्रहरीले वैशाख २७ गते धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतले असार २७ गते अर्को आदेश जारी गर्दै सिंहलाई थुनामुक्त गर्न आदेश गरेको जिल्ला कारागार कैलालीले जनायो । प्रमाण नपुगेको भन्दै लगाइएको मुद्धा खारेज गर्दै सर्वोच्चले सिंहलाई थुुनामुक्त गर्न पत्रचार गरेको जिल्ला कारागारको पत्रमा उल्लेख छ ।

तर थुनामुक्त गर्न जिल्ला अदालत कैलालीमा उपस्थित गराइएका उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो । तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले सिंहलाई पक्राउ गरेकोबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्