सेमिफाइनलमा हारपछि भारतीय कप्तान कोहली र प्रशिक्षक शास्त्रीलाई स्पष्टिकरण सोध्ने तयारी

काठमाडौँ, असार २७ । भारतीय क्रिकेट नियामक निकाय बिसिसिआईमा त्यहाँको सर्व्वोच्च न्यायालयद्वारा नियुक्त प्रशासकहरूको समिति- सिओएले विश्वकपमा भारतको प्रदर्शनबार्रे कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीलाई स्पष्टिकरण सोध्ने भएको छ ।

समितिले सेमीफाइनलमा भारतको पराजयबारे महत्वपूर्ण राशन सोधिने समाचार भारतीय समाचार माध्यमहरूमा प्रकशित रहेको छ । उक्त समितिले यसका अतिरिक्त टीमका प्रमुख चयनकर्ता एमएसके प्रसादसँग पनि प्रमुख रूप्मासोध्पुच गर्ने भनिएको छ ।

भारतीय समाचार माध्यमहरूले प्रकाशित गरेको जानकारी अनुसार उक्त स्पष्टिकरण भारतको विश्वकपमा प्रदर्शनबारे समिक्षा बैठकमा सोधिने भएको हो ।

तीन प्रमुख प्रश्न

यस बैठकमा प्रशिक्षक रवि शास्त्री र चयनकर्ता एमएसके प्रसादलाई टीममा खेलाडीहरूको छनौटबारे प्रश्न सोधिने बताइएको छ । विश्वकप पहिले भारतले खेलेको अन्तिम शृंखलासम्म भारतीय टीमको हिस्सा रहेका अम्बाति रायडू विश्वकपमा नपरेर लामो समयदेखि फर्ममा नरहेका दिनेश कार्तिकलाई टीममा राखिनुप्रति सेमिफाइनलमा पराजयपछि प्रश्न उठ्न थालेको छ ।

रायडूलाई चौथो क्रमका ब्याट्सम्यानको रूपमा त्यसअघिका शृंखलाहरूमा सामेल गरिने गरेको थियो । तर विश्वकपमा भने उक्त स्थानमा विजय शंकरलाई मौका दिइएको थियो । त्यसपछि पनि विजय शंकर चोटका कारण टीमबाट बाहिरिए पछि पनि टीमको वैकल्पिक सदस्यको रूपमा रहेका रायडूलाई इंग्ल्याण्ड पठाइने अनुमान धेरैले गरेका थिए । तर टीम व्यवस्थापनले भने शंकरको स्थानमा मयंक अग्रवाललाई पठाएको थियो जबकि उनी वैकल्पिक सदस्यको रूपमा समेत थिएनन् ।

बिसिसिआईका पूर्व सचिव संजय जगदालेले इन्डियन एक्सप्रेसलाई दिएको साक्षात्कारमा दिनेश कार्तिक र रायडू दुवै उस्तै रहेको र उनीहरूको आइपिएलमा प्रदर्शनलाई मात्र आधार मानेर राष्ट्रिय टोलीमा सामेल गराइनु युक्तिसंगत नरहेको बताए । उनले भने “हामीले त्यस्ता खेलाडी चयन गर्न सक्नुपर्छ जसले भारतबाहिर पनि लगातार राम्रो खेल्न सक्छन् ।”

समितिले कोहली र शास्त्रीलाई सोध्न सक्ने अर्को प्रश्न टीममा तीन-तीन विकेट कीपर छँदाछँदै दिनेश कार्तिकलाई स्थान दिइनुको कारणबारे हुसकने बताइएको छ ।

त्यस्तै समितिले पूर्व कप्तान तथा विकेट कीपर ब्याट्सम्यान धोनीलाई सातौं क्रममा ब्याटिङ् गर्न पठाउने निर्णयबारे समेत प्रश्न गर्ने अनुमान धेरैले गरेका छन् । सुरुका तीन ब्याट्सम्यान आउट भइसकेपछि खेल सम्हाल्न धोनी मात्र सक्षम रहेकोले उनलाई चौथो क्रममा पठाइनु पर्ने धेरैको मत रहेको छ ।

दिग्गजहरूले गरे प्रश्न

सचिन तेंदुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मण सहित पूर्व भारतीय क्रिकेटरहरूले पनि न्युजिल्याण्डविरुद्धको खेलमा धोनीलाई सातौँ क्रममा पठाइनु रणनैतिक भूल रहेको बताएका छन् । उनीहरूले शीर्षक्रमका ब्याट्सम्यान बिना कुनै उल्लेखनीय योगदान गरेरै आउट भएको र निर्णायक खेल रहेको अवस्थामा हार्दिक पंड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले पठाइनुमा प्रश्न उठाएका थिए ।

जारी विश्वकपमा उपाधिको प्रबल दाबेदार मानिएको र लीग चरणमा अंक तालिकाको शीर्षमा रहेको भारतले न्युजिल्याण्डद्वारा प्रस्तुत २४० रनको सामान्य लक्ष पनि पछ्याउन नसकेर विजय लक्षमा पुग्नुभन्दा १८ रन अगावै घुँडा टेकिदिएको थियो ।

कमेन्ट गर्नुहोस्