भरतपुर महानगरवासीलाई ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हालै परेको अविरल वर्षाका कारण हुनसक्ने डुबान, नदी, कटान र मानवीय एवम् भौतिक रुपमा हुने क्षतिप्रति सजग रहन महानगरवासीलाई आग्रह गरेकी छिन् ।

शनिबार महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकाका दुई ठूला नदीहरू नारायणी र राप्तीले घेरिएको प्रसङ्ग उल्लेख गर्दै भारी वर्षासँगै दुवै नदीको बहाव तीव्ररूपमा बढिरहेको बताउँदै सबैलाई सजग र सतर्क रहन आग्रह गरेकी छिन् ।

प्रमुख दाहालले शुक्रबार मध्यान्नदेखि निरन्तर भइरहेको वर्षाका कारण महानगरपालिकाका तल्लो नदी तटीय क्षेत्रहरू डुबान र कटानमा पर्नसक्ने बताउँँदै यसलाई रोकथाम र नियन्त्रण गर्दै सम्भावित क्षतिको न्यूनिकरण गर्न भरतपुर महानगरपालिका विपद व्यवस्थापन इकाइ, जिल्ला विपद ब्यवस्थापन इकाइ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल रेडक्रस सोसाइटी अन्य मानवीय सेवामा क्रियाशील संघसंस्था नागरिक समाज सबैसँग समन्वय गरी तयारी अवस्थामा राखिएको बताए । आ–आफ्नो टोल छिमेक तथा समुदायमा हुनसक्ने विपद्को यथाशीघ्र नजिकको वडा कार्यालय, जनप्रतिनिधि तथा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन समेत सबैलाई आग्रह गरिएको छ ।

सम्भावित जोखिम न्यूनिकरण र हुनसक्ने क्षतिलाई नियन्त्रण, रोकथाम र पुनर्स्थापनाका लागि भरतपुर महानगरपालिका समन्वयात्मकरूपमा तयारी अवस्थामा रहेको बताउँदै प्रमुख दाहालले वर्षा नियन्त्रणमा नआएसम्म नगरवासीहरूलाई नदी तटीय क्षेत्र वरिपरि नजान महानगरपालिकाले आग्रह गरेको छ ।

महानगर प्रमुख दाहालले कुनैपनि विपद्का प्रकोपमा बालबालिका, वृद्धवृद्धा अपांगता तथा असहाय बढी प्रभावित हुने बताउँँदै त्यस समुदायलाई विशेष ख्याल गर्न परिवारलााई आग्रह गरिन् । सम्भावित विपदको घडीमा समयमै सजग र सजग हुँदै आआफ्नो टोल छिमेकमा हुनसक्ने दुर्घटनामा उद्धार राहत र पूनस्र्थापनामा तत्काल जुट्न महानगरवासीलाई आग्रह गरेकी छिन्।

भरतपुर महानगरपालिकाको नारायणी नदी तटीय क्षेत्र शिवघाटदेखि राप्ती र नारायणीको संगम स्थल गोलघाट, राप्तीको जगतपुर पटिहानी घडगाइ वडा नं.२५, २७, २८ वडाहरूको नदी तटीय क्षेत्रलगायतमा डुबान र कटानको समस्या रहेको हुनाले ती क्षेत्रका सबै संयन्त्रलाई हाईअलर्टमा राखिएको महानगरपालिकाले जनाएको छ ।

यस्तै वडा नं.२९को पहाडी भागमा पनि पहिरोको जोखिम रहेको हुनाले त्यहाँको संयन्त्रलाई पनि ‘हाई अलर्ट’को अवस्थामा राखिएको भरतपुर महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्