अविरल वर्षाको कारण सर्लाहीको जनजीवन कष्टकर

सर्लाही, असार २८ । अविरल वर्षाले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

पानीको निकास नहुँदा सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा परेका छन् । घर डुबानमा परेपछि सयौँ परिवारको विचल्ली भएको छ भने खानेबस्नेको टुंगो नहुँदा दिनचर्या कष्टकर बनेको छ ।

खोलाको बाढी र वर्षाको भेलले जिल्लाको धनकौल, बसबरिया, बरहथवा, रामनगर, ब्रम्हपुरी लगायतको क्षेत्रमा दर्जनौं बस्तीमा कटान र डुबानको समस्या देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

पानी पर्नेक्रम नरोकिएकाले उद्धार तथा कटान रोक्नका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न समेत समस्या भैरहेको प्रमुख जिल्ला अधिकारी राउतले बताए । कतिपय ठाउँमा स्थानीयवासी आफै सुरक्षित ठाउँमा ओत लागेर बसेका छन् । प्रमुख जिल्ला अधिकारी राउतले वर्षाका कारण जिल्लामा अहिलेसम्म ठूलो किसिमको अप्रिय घटना नभए पनि अधिकांश ठाउँमा डुबान र कटानको समस्या भने रहेको बताए ।

अविरल वर्षाले बागमती, लखन्देही, मनुष्मारा, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा ठूलो बाढी आइरहेको छ । खोलाको बाढीले ठाउँ ठाउँमा किसानको खेतबारी कटान गरिरहेका छन् ।हुलाकी सहित सर्लाहीका भित्री सडकहरु हिँड्डुल गर्न र सवारी चल्न नसक्ने गरी जलमग्न भएका छन् ।

वर्षाका कारण अवरुद्ध विद्युत् लालबन्दीलगायतका केही बजार क्षेत्र बाहेक अन्य ठाउँमा सूचारु भएको छैन् । लालबन्दीसहित राजमार्गक्षेत्रमा भने सुक्रवार रातीबाट आंशिक रुपमा विद्युत् सूचारु भएको हो । ग्रामीण भेगमा धेरै बिजुलीको पोल ढलेकाले तत्काल विद्युत् सूचारु हुने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

अन्य क्षेत्रमा विद्युत् सूचारु गर्न मर्मतको काम भने चलिरहेको प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । सदरमुकाम मलंगवामै समेत विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा विपतको समयमा नागरिक सञ्चार सम्पर्कबाट टाढिएका छन् । अविरल वर्षाले हरेक क्षेत्र प्रभावित बनेको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्