भारतीय क्रिकेट टिममा चुलियो विवाद, कोहली र शास्त्रीविरुद्ध रोहितको मोर्चाबन्दी

नयाँ दिल्ली । जारी विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा न्यूजिल्याण्डसँग हारेपछि भारतीय क्रिकेट टीमभित्र गम्भीर विवाद सिर्जना भएको छ । शुरुआती खेलदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको टीम इण्डियाले न्यूजिल्याण्डले राखेको दुई सय चालीस रनको लक्ष्य समेत पुरा गर्न नसकेर हार ब्यहोरेपछि विवाद चुलिएको हो ।

नौ वटा खेलमा सात खेले जितेको भारत फाइनलमा पुग्नेमा आशावादी भारतीय क्रिकेट टीमका प्रशंसकहरुको चर्को निशानामा अहिले कप्तान बिराट कोहली र प्रशिक्षक रवि शास्त्रीमाथि आलोचना भइरहेको छ । बिभिन्न मिडियामा प्रकाशित समाचार अनुसार, अहिले प्रशिक्षक रवि शास्त्री र कप्तान कोहलीको एकल निर्णयका कारण भारत हारेको भन्दै टीमभित्र समेत एक अर्कामाथि आरोप प्रत्यारोप शुरु भएको छ ।

यो विवादमा चौथो नम्बरमा कसलाई स्ट्राइकमा ल्याउने भन्ने विषयमा कोच र कप्तानले गलत फैसला गरेकै कारण टीम हारेको कुरा मुख्य रहेको छ । प्रशिक्षक शास्त्री र कप्तान कोहलीले टीमका अन्य सदस्यसँग छलफल नगरी एकल निर्णय लिने गर्नु महाभूल भएको बताएका छन् ।

समाचार अनुसार, हारकै कारण टीम दुईवटा गुटमा बाँडिएको छ । एउटा गुट रोहित शर्माको समर्थनमा छन् । अर्को खेमाले भने बिराट कोहलीलाई समर्थन गरेको छ । रोहित समर्थकहरुको बिचारमा कोहलीको कप्तानी राम्रो नहनु नै हारको कारण बनेको छ ।

यही विषयमा भारतको उच्च न्यायायलमा परेको एक रिटपछि गठित प्रशासकहरुको समितिले कप्तान बिराट कोहली र रवि शास्त्रीलाई बयानका लागि बोलाएको छ । यो सुनुवाईलाई भारतको हारको पोष्टमार्टमका रुपमा समेत लिइएको छ । यसमा कोहली र शास्त्रीलाई ३ विकेटकीपरलाई प्लेइंग ११ मा ल्याउनेदेखि धोनीलाई सातौं नम्बरमा ल्याएको विषयमा समेत जवाफ दिनुपर्ने छ ।

कमेन्ट गर्नुहोस्