बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो, राप्तिमा पानी बढ्यो

काठमाडौं, असार २८ । केही दिन देखिको लगातारको वर्षाका कारण बाढी–पहिरोमा परी शनिबार साँझ सम्म ३४ जनाको मृत्यु भएको छ । बाढी–पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन÷तीन , धादिङ र सिन्धुलीमा दुई÷दुई जनाको मृत्यु भएको छ ।

यस्तै पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक एक जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेका ९७९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकामा महोत्तरीमा पाँच सय जना, रौतहटमा दुई सय जना, काठमाडौंमा १८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिराहमा दुई जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक एक जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा चार जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक उक जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । साथै मकवानपुरमा चार जना, काभ्रेमा दुई जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी जम्मा १२ जना घाइते भएका छन् ।

यसैबीच राप्ति नदीमा पानीको सतहले बाँकेको कुसुम क्षेत्रमा पानीले सर्तकता तह पार गरेको र सो नदीको तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन मौसम तथा जलवायु विज्ञान विभागले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्