हराउँदै लमी परम्परा

अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

काठमाडौं, असार २९ । असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै छिन् ।

उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’ कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा ‘लमी’ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे तर अहिले शिक्षा र प्रविधिको विकाससँगै लमीको काम सबै केटाकेटी अफैँले गर्ने गरेको छ । फेसबुकबाट चिनजान हुन्छ । कलेजमा एक अर्कासँग प्रेम पर्छ । त्यसैलै अहिले केटा वा केटी खोज्न लमी नचाहिने स्थिति हुँदै गएको छ । विगत ४० वर्षदेखि लमीको काम गर्दै आएका असन निवासी तुलाधर भन्छिन्, “लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ । अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसको पनि प्रेमी, प्रेमिका छ भन्छन् । कुरो लिएर जान पनि लाज हुन्छ । ”

“लमीहरूले दुवै पक्ष मिलाएर विवाह सम्पन्न गराइदिने काम गर्नुपथ्र्यो”, उनले थपिन् । त्यति बेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैन्थ्यो । आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजकिरिया लमीले नै गर्नुपथ्र्यो । त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन भएको बताउँदै तुलाधरले लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथ्यो । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउने चलन रहेको उनलृ जानकारी दिइन् ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ । सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भए भने लमीले दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्छ । उनले यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका नराम्रो घट्ना नभएको बताए । उनले भने, “उपत्यकामा धेरै माथिल्लो तहका मानिने नेवार समुदायले पनि यसरी नै विवाह गरेको पाइन्छ । अहिले त लगभग सबै समुदायको विवाह परम्परा एउटै भएको छ । ”

जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदारसमेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने लोप भएको जानकारी दिए ।

लमीले झुक्याउँदा…..
त्यसो त लमीको कारणबाटै दुःख भोग्नु परेको उदाहरण पनि छन् । चोभारस्थित सरिता कर्माचार्य (नाम परिवर्तन) विवाह लमीकै कारण झुक्याएर विवाह भयो । त्यतिबेलाको घटनाको स्मरण गर्दै कर्माचार्य भन्छिन्, “घरमा लमीले कुरा लिएर आउनुभयो, केटा इन्जिनियर हो, देवर कम्प्युटर इन्जिनियरिङ अध्ययनरत, सासू विद्यालयको प्रधानाध्यापक, ससुरा भने सरकारी जागिरबाट अवकास हुनुहुन्छ भनियो ।”

उनले थपिन्, “यस्तो राम्रो घरबाट कुरा आएपछि नदिने कुरा नै भएन, मेरो घरबाट कुरा चलाउन भनियो र विवाह पनि भयो । पछि थाहा पायो भनेको जस्तो केही पनि रहेन छ । श्रीमान् इन्जिनियर भनेको त साधारण विद्यालयमा पढाउने, देवर कलेजको बस चालक र सासू विद्यालयको कार्यालय सहयोगी, ससुरा रक्सी खाएर सधैँ झगडा गर्ने । ” यसरी झुक्याएर विवाह गरेपछि पाँच वर्षसम्म सँगै बसेपछि धेरै नै गाह्रो भएपछि छोरालाई लिएर छुट्टिएर बसेको छु । पन्ध्र वर्ष भयो छुट्टिएर बसेको अहिले धेरै खुसी छु । टेलरिङ सञ्चालन गरेर घर चलाएको छु, कर्माचार्यले भनिन् । विस्तृत खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्