मलेसिया विरुद्धको सिरिज नेपालले जित्यो

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिज नेपालले २–० ले जितेको छ । दोस्रो खेलमा आज ६ रनले हराउँदै मलेसियासँगको सिरिज नेपालले जितेको हो । नेपालले जितेको यो पहिलो टि–२० सिरिज हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि सायद ऐजाले ५०, अमिनुद्दिन रमिले २४, विरन्दीप सिंहलाई २३, अहमद फैजले १७, अनवार अरुदिनले ७, शाकिफ सरिफले १०, महुदत सायदतले नट आउट २१ रन बनाए । बलिङमा सोमपाल कामी, सन्दीप लामिछानेले २–२, अविनाश बोहरा, करण केसी र पारस खड्काले एक–एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो । नेपालका लागि विनोद भण्डारीले बिस्फोटक ब्याटिङ गरे । उनले ५ छक्का र ३ चौकाको मद्दतमा २५ बलमा नट आउट ५१ रनको योगदान दिए । टि–२० मा नेपालले बनाएको यो अहिले सम्मकै ठूलो लक्ष्य हो । यस अघि नेपालले सन् २०१४ को टि–२० विश्वकप क्रिकेटमा हङकङविरुद्ध बनाएको १४९ रननै उच्च स्कोर रहँदै आएको थियो ।

यस्तै, शरद भेषवाकरले २८ बलमा ४०, कप्तान पारस खड्काले १९ बलमा २३, रोहित कुमार पौडेलले २३ बलमा १९, करण केसीले १० बलमा १६, ज्ञानेन्द्र मल्लले ३ बलमा ७, पवन सराफले ११ बलमा १० र सोमपाल कामीले नट आउट १ बलमा १ रन बनाए । बलिङमा मलेसियाका फित्री शामले ३, सैद अजिज र सर्विन मुनियनले एक–एक विकेट लिए । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

कमेन्ट गर्नुहोस्