भारत–नेपाल–तिब्बत व्यापार तोलाको २६ रुपैयाँमा सुन

काठमाडौ‌, असार २९ । असारको पहिलो साताको अन्तिम कारोबार दिन ६ गते नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च रह्यो । छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ६४ हजार सात सय रुपैयाँ पुगेको थियो । चाँदी भने प्रतितोला ७४० रुपैयाँमा कायम भएको थियो । नेपालीमा एउटा उखान प्रचलनमा छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । उखान तुक्का व्यवहारको कसीमा खारिएर बनेका हुन्छन् । यस उखानले नेपालमा सुनको अभाव रहेको तर गहना लगाउने तीव्र चाहनालाई जनाउँछ ।

मल्लकालीन समयमा नेपालको व्यापार भोट (तिब्बत)सँग बढी हुने हुँदा सुनचाँदीको कारोबार पनि उतैबाट हुन्थ्यो । तिब्बतमा चाहिँ सुन चीनको सिनिन सहरबाट आउने गर्दथ्यो । अहिले सुनचाँदीको कारोबार विभिन्न देश र विभिन्न माध्यमबाट हुने गर्दछ तर पनि अवैधरूपमा सुनको ओसारपसार भने तिब्बती क्षेत्रबाटै हुने गरेको छ ।

मध्यकाल (मल्लकाल)मा सुनचाँदी गहनाका अतिरिक्त विनिमयको माध्यम पनि थियो । प्रविधिको प्रयोग गरी हुने वस्तु उत्पादन विशेषगरी औद्योगिक उत्पादन कम भएको र मुद्राको प्रचलन पनि कम भएको अवस्थामा वस्तु विनिमय प्रचलनमा थियो । वस्तु विनिमयमा पनि विभिन्न वस्तुका लागि विभिन्न नापतौल प्रचलनमा थिए । मुद्रा नभएको बेला सरकारी कारोबार (कर आदि) पनि सुन अथवा चाँदीमा गरिन्थ्यो । आर्मेनियाली व्यापारी होभान्नेस जौग्हायेत्सीले भारत–नेपाल–तिब्बतमा गरेको त्रिदेशीय व्यापारको स्याहाले सुनचाँदीको कारोबार, गुणस्तर र नापतौलका बारेमा जानकारी दिएको छ । मुद्राको प्रचलन कम भएको हुँदा मूल्यका बारेमा भने जानकारी पाइँदैन तर त्यसबेलाको मूल्यपछिका विश्लेषणले निर्धारण गरिदिएका छन् ।

तीन किसिमको सुन

अहिले छापावाल र तेजाबी गरी दुई किसिमको सुनको कारोबार हुन्छ । होभान्नेस जौग्हायेत्सीको सन् १६८२–९३ को स्याहा अनुसार तत्कालीन समयमा तीन किसिमको सुन पाइन्थ्योः पाना, खाम्सेर र जुन्सेर । पाना सुन उच्च, खाम्सेर मध्यम र जुन्सेर न्यून गुणस्तरको हुन्थ्यो । त्यस्तो सुनलाई सुकाम र सेवामा तौल गरिन्थ्यो तर सुनको सानो परिमाण भने तोला र मासामा नै कारोबार हुन्थ्यो । व्यापारी होभान्नेस जौग्हायेत्सीको स्याहाका आधारमा लेभोन खाचिकियान र उनका एक जना सहयोगीले गरेको विश्लेषण तथा सुनीतिकुमार चटर्जीको पुनः प्रस्तुतिको समग्रीमा प्रतितोला सुनको मूल्य निर्धारण गर्ने प्रयास गरिएको छ ।

त्यसलाई तत्कालीन पर्सियाली नापतौलको सन्दर्भ सामग्री अनुसार हेरिएको उल्लेख गरिएको छ । जसअनुसार पाना सुनको मूल्य प्रतितोला १२.७५ रुपियाँ, खाम्सेरको १२.५ र जुन्सेरको ११.५५ रुपियाँ रहेको थियो । सुनको खुद्रा कारोबार भने तोला र मासामा पनि हुने गरेको स्याहाले देखाएको छ तर तोला र मासाको तौलमा भने अन्य देशको तुलनामा नेपालमा निकै भिन्नता रहेको पाइन्छ । स्याहामा नेपाली तोला र नेपाली मासा भनेर बेग्लै उल्लेख छ । विश्लेषण गरिएको सामग्रीमा तोला र मासालाई ग्राममा परिणत गरेर देखाइएको छ ।

यस तालिका अनुसार नेपाली तोला र मासामा बढी तौल रहने गरेको देखिन्छ । लालमा तौल भने उल्लेख गरेको पाइँदैन ०.४२ ग्रामको परिमाण हुने काल भनी उल्लेख गरिएको पाइन्छ । सम्भवतः त्यसलाई लाल भनिएको हो ।

माथि उल्लेख गरेको सुनको रुपैयाँको मूल्य नेपाली होइन, भारतमा चलनमा रहेको रुपैयाँमा हो । भारतमा पनि विभिन्न किसिमका मुद्रा प्रचलनमा थिए । त्यस समयमा नेपालमा चलेको मुद्रा भने मल्ली (महिन्द्र मल्ली) हो । दाम भन्ने तामाको मुद्रा पनि चलनमा रहेको स्याहामा उल्लेख छ । चाँदीको महिन्द्र मल्लीको सिक्काको तौल ५।६६ ग्राम र भारतीय चाँदीको सिक्काको तौल ११.३३ ग्राम रहेको उल्लेख छ ।

यस आधारमा रुपियाँसँगको मल्लीको विनिमय दर १ः२ अर्थात् करिब दोब्बरको रहेको उल्लेख छ । माथिको तालिकाको मूल्यअनुसार नेपालमा सुनको पाना ९अहिलेको छापावाललाई मान्न सकिने० मूल्य २५।५ मल्ली हुन आउँछ ।

तर नेपाली तोलामा बढी तौल रहेको कुरालाई आधार मान्दा उक्त मूल्य २६ मल्लीको हाराहारीमा हुने देखिन्छ । नेपालको पहिलो मुद्रा मल्लीलाई अहिलेको नेपाली रुपैयाँको पूर्वरूप मान्दा तत्कालीन समयमा छापावाल सुनको मूल्य प्रतितोला करिब २६ रुपियाँ रहेको मान्न सकिन्छ ।

अन्य नापतौल

सेरः स्याहामा अन्य नापतौल पनि उल्लेख छन् । उल्लेख भएकामध्ये कतिपय नेपालमा प्रचलनमा छैनन् । प्रचलनमा रहेको एक सेरको ६३७.७४ ग्राम हुने विवरण दिइएको छ । सेर नेपालमा हाल पनि प्रचलनमा रहेको तौलको प्रकार हो । गजः गज लम्बाइ नाप्ने एकाइ हो । खास गरी कपडा नाप्नका लागि यसको प्रयोग हुने गरेको देखिन्छ । नेपालमा गज र हात भनेर कपडा नाप्ने प्रचलन रहेको थियो । गजको सेन्टिमिटरमा परिवर्तन भने ६३.५ सेन्टिमिटरदेखि ११२ सेन्टिमिटरसम्म रहेको देखाइएको छ । शाही गज (१०१.६ सेमी), शाही गजानी अर्थात् लस्करी गज (९५.८५ सेमी), आलेप्पो गज (१६.७३ सेमी) प्रचलनमा रहेका थिए । हरेक गजका साजा एकाइमा ग्रेह (घेर ?) र पाइरहेको पाइन्छ । टान÷तानः कपडाको मापन गर्दा टान÷तानको पनि प्रयोग भएको पाइन्छ । कपडा बुन्ने तानका आधारमा नेपाली सन्दर्भमा त्यो तान नै रहेको अनुमान गर्न सकिन्छ ।
बाग्चा (बाक्सा ?)ः पोका पारेर वा प्याक गरेर कारोबार गरिने वस्तुको मापन बाग्चामा गरिएको छ । तिब्बतबाट ल्याएको चिया र नेपालबाट लगिएको कागत र सुर्तीको परिमाण बाग्चामा उल्लेख छ । यो उच्चारणमा परिवर्तन भएको बन्डल वा बाक्साका रूप हुनसक्छ ।

त्यसैगरी जोडी वा जोरलाई जोर नै, २० वटा वस्तुको समूहलाई कूरी (कोरी), आठ वटालाई छोक्रा आदि प्रचलनमा रहेको पाइन्छ ।

पाइएनन् माना–पाथी

नेपालमा नापतौलमा सुधारको इतिहास खोज्दा भादगाउँका मल्ल राजा जयस्थिति मल्ल (ई. १३५४–१३९४) सम्म पुुग्न सकिन्छ तर त्यसअघि पनि पाथीको प्रयोग भएको विद्वानको तर्क छ । भादगाउँ (भक्तपुर)का राजा भएपनि उनी आफैं काठमाडौँ उपत्यकाका नगर राज्यका मल्ल वंशका थिएनन् । उनले मल्ल राजाकी छोरीसँग विवाह गरेका कारण ज्वाइँ राजा थिए । उनी मिथिला, मधेसका थिए तर उनले राम्ररी राज्य सञ्चालन गर्नुका साथै विभिन्न थिति पनि बसाएका थिए । उनको थिति नापतौलको प्रयोगसँग सम्बन्धित छ । उनले जग्गाको नापजाँच गरी उत्पादन क्षमताका आधारमा जग्गालाई अबल, दोयम, सिम र चाहार गरी चार तहमा विभाजन गरेका थिए । अहिले पनि जग्गाको स्रेस्तामा जग्गाको किसिमका यही वर्गीकरण प्रचलनमा छ ।

त्यस्तै मनुको पालादेखि प्रचलनमा रहेको भनिएका र लिच्छविकालमा समेत प्रचलनमा रहेको तर एकरूपता नरहेका माना–पाथीको चलनमा पनि उनले सुधार गरेका थिए । मल्लकालमा पाथीको प्रचलन धेरै रहेको उल्लेख पुरातात्विविद् तारानिधि मिश्रले उल्लेख गरेका छन् ।

त्यसको प्रयोगमा अनियमितता हुन थालेको र त्यसलाई नियन्त्रण गर्नु परेको जानकारी पनि मिश्रले दिएका छन् । वि.सं. १८६२ को श्री ५ रणबहादुर शाहको एउटा पत्रमा राज्य व्यवस्थाका लागि चालिएका धेरै नयाँ कदममा मानापाथीको खोटो चलन रोक्ने आदेश रहेको उनको जानकारी छ । छाप नलागेको माना, पाथी, तुलो, ढकले लेनदेन गर्न नहुने र गरेमा कारबाही हुने र त्यसको कार्यान्वयन हिटिचोक्या नामक अड्डाले गर्ने व्यवस्था रणबहादुरले गरेका थिए ।

तर, आर्मेनियाली व्यापारी होभान्नेस जौग्हायेस्तीले गरेको भारत–नेपाल–नेपाल त्रिदेशीय व्यापारको स्याहामा माना–पाथी पाइँदैन तर उनको व्यापारभन्दा अघि नै जयस्थिति मल्लको शासनकाल रहेकाले र हाल पनि माना पाथीको प्रचलन हुँदा त्यसबेला थिएन भन्न सकिँदैन ।

माना वा पाथीमा मापन हुने वस्तुको कारोबार गरेका थिएनन् भन्न सकिन्छ तर उनले सेर र धार्नीमा भने कारोबार गरेको पाइन्छ । पाथीको हिसाबले कारोबार हुने वस्तु पनि तौलका आधारमा व्यापार उनले गरेका हुन सक्छन् ।

बोरा वा खामः त्यस्ता सामग्री बोरा वा खाममा प्याक गरेर गरिने कारोबार र ओसारपसार थिए । काल र खाम त्यसका लागि प्रयोग भएका मापन हुन् । एक बोरामा २०–२४ काल हुने र त्यसले भारी पुग्ने जनाइएको पाइन्छ । त्यस्तै एक खाममा २७.५ किलो ग्राम रहने उल्लेख छ । यसबाट एक भारी सामान बोरा वा खामको तौल बराबर हुने गर्दथ्यो भन्न सकिन्छ ।

नाफाः तत्कालीन समयको मुख्य कारोबारको वस्तु कस्तुरी बिना थियो । त्यसको तौलका आधारमा कारोबार हुन्थ्यो, जसलाई नाफा भनिन्थ्यो । एक नाफामा ४०–५० किलो कस्तुरी बिना हुन्थ्यो । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्