बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ५० पुग्यो, ३५ वेपत्ता

काठमाडौं, असार २९ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ ।

उक्त बाढीपहिरोमा परी काठमाडौंमा तीनजना, ललितपुरमा र भोजपुरमा पाँच–पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन–तीन जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा दुई–दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा एक–एक जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष रहेका छन् ।

एक हजार १०४ को उद्धार

बाढी पहिरोमा परेका काठमाडौंमा १८५ जना, ललितपुरमा आठ, उदयपुर १०, रौतहटमा दुई सय, महोत्तरीमा पाँच सय, सिराहामा दुई, सर्लाहीमा एक सय जना, सप्तरीमा २५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ ।

यस्तै सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक÷एक जना गरी जम्मा एक हजार १०४ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

३५ जना वेपत्ता

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा छ जना, ईलाम र मोरङमा तीन–तीन जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा एक–एक जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कुल २५ घाइते

यस्तै मकवानपुरमा चार जना, ललितपुर र धनकुटामा तीन–तीन जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई–दुई जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन एक–एक जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक लगायतका प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्