नेपालको पहिलो महिला प्रहरीको सेवा अनुभव

काठमाडौं । हालै ८७ वर्ष लागेकी काठमाडौंकी चैतमाया डंगोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउँन पाउँला भनेर । चाबहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठ भूमिका कान्छा डंगोल र तरिमाया डंगोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउने परिवारको कुनै लालसा पनि थिएन ।

तर, उनको र परिवारको चाहनाविपरीत वि.स. २००८ सालतिर उनी एकाएक नेपाल प्रहरीमा जागिर खान पुगिन् । हाल उनी नेपालको प्रथम महिला प्रहरीका रूपमा परिचित छिन् । त्यसैको आधारमा प्रहरीलगायतका विभिन्न संगठनले उनको सम्मान गर्दै आएका छन् ।

तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबराका पालामा केही महिला नेत्रीहरूको सुझाब तथा साथीहरूको लहैलहैमा लागेर उनी अन्य २५ जना महिलासहित भद्रकाली पुगिन् । विगत सम्झदै उनले भनिन, ‘हाम्रो टोलमा केही महिला आएर सिंहदरबार जाऔँ भने । उनीहरूले खेल्ने, रमाइलो गर्ने, खाने, गफ गर्ने, पैसा पनि पाइन्छ’ भनेपछि म पनि दंग भएँ र साथसाथै गएँ ।’

उनले भनिन्, केही लोग्ने मान्छे आउँथे, खेलकुद, तालिम गराउँथे । हामीलाई खेल्न सिकाउने को हुन पछिसम्म हामीलाई थाहा थिएन ।’ बिहान जाने, बेलुका घर फर्किने गर्दागर्दै चार महिना बितेको उनलाई थाहै भएन । त्यो समय हाँसेर खेलेर रमाइलोमा बितेको उनी बताउँछीन् । त्यति वेलासम्म आफूहरु किन हरेक दिन यसरी रमाइलो गर्दै छु भन्ने उनलाई पत्तै थिएन । यसै गरी होला पैसा पनि पाइने भन्ने ठानेकी थिइन् ।

तर, एकदिन उनीहरूलाई सिंहदरबार लगिएपछि र त्यहाँ प्रहरीको बर्दी लगाएका एकजना मानिस आएर । अब तिमीहरूले प्रहरीमा जागिर खानुपर्छ’ भनेपछि उनीहरूको होस नै उड्यो । ‘तिमीहरू अब जागिर खाएपछि पैसा पाउँछौ, प्रहरी बन्छौ’ भनेपछि हामीले जागिर खादैनौँ’ भन्यौँ,’ उनले हाँस्दै भनिन् । बर्दी लगाएका ती मान्छेले फेरि भने, ‘तिमीहरू अब जागिर खाएपछि पैसा पाउँछौ, प्रहरी बन्छौ’ भनेपछि हामीले जागिर खादैनौँ’ भनेर तर्कन खोज्यौँ ’ उनले भनिन् ।

उति वेलाको जमान प्रहरीमा के–के पद हुन्छ फूलीको महत्व के हो थाहा नपाएकी उनले आफूलाई जागिर खान पर्छ भन्ने मान्छे को रहेछ भनेर पछि मात्र थाहा पाइन, ती व्यक्ति तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबरा रहेछन् ।

भर्खरै मुलुकमा राणा शासन अन्त्य भएको थियो । पुरुषले त आफ्नो कुरा राख्न हिच्किचाउँथें । उनीहरू त महिला, अझ केटी मान्छे ! हालको जस्तो विद्रोह गर्ने वा अड्डी लिने अवस्था नभएको भन्दै उनले आफूहरूको अडान धेरैबेर टिक्नै नपाएको बताइन् । राणा शासन अन्त्य भए पनि प्रमुख राणाका अघि उनीहरूको केही चलेन ।

उनले भनिन्, ‘यहाँ आइसकेपछि जागिर खादैनौँ भनेर पाउँछौ ?’ ‘कि जेल जान्छौ कि तालिम गरेको पैसा सबै तिर्नपर्छ’ भनेर जबराका सहयोगीले धम्क्याए हामीलाई ।’ ‘जेल जानुभन्दा त जागिर खान’ जाती’ भनेर खाइयो प्रहरीमा जागिर । हामीलाई फकाएरै लगियो, झुक्याएरै लगियो प्रहरीमा,’ उनले हाँसो थाम्न सकिनन् । एकातिरबाट हेर्दा उनीहरूले सहजै जागिर पाएका थिए त्यो पनि प्रहरीमा । अहिलेको जस्तो भए कल्पना गर्न पनि कठिन हुने थियो ।

लहैलहैमा लागेर प्रहरीमा जागिर त सुरु भयो तर आफ्ना पति केदार श्रेष्ठ भने उनको जागिरबाट खुसी थिएनन् । त्यो जमाना छोरी मानछेले जागिर खानु त्यो पनि प्रहरीमा सहज पक्कै थिएन । विस्तारै जागिरमा रमाउन थालेकी उनले पतिलाई समेत सम्झाउन सफल भइन् र उनी पनि अन्ततः राजी भए उनका पति ।

तर, पहिलोपटक महिला प्रहरी हुँदा भने उनले थुप्रै चुनौती सामना गर्नुप¥यो, संगठन भित्रै, बाटोघाटो र टोलसमाजमा । टोलछिमेकका आमाबुवाले समेत आफ्ना छोराछोरीलाई गाली गर्नुप¥यो भने हेर न कस्तो पुलिसजस्तो भन्थे । महिला त्यसमा पनी प्रहरी भएको कारण धेरै चुनौतीको समना गर्नुपरेको उनले बताइन् ।

उनले भनिन्, ‘त्यस्तो जमानामा जागिर खाइयो । मैले झुक्किएर जागिर खाए पनि आवतजावत गर्दा कत्ति जिस्क्याउँथे मान्छेहरूले ।’ जिस्क्याउने कतिलाई त कुटियो पनि आफैँले । लखेटेरै कुट्थेँ, उनले खित्का छोडदै भनिन् । उनले जागिर खाँदा २५ महिलाको दरबन्दीलाई महिनाको ३०–३० रुपैयाँ दिइने गरेको उनको भनाइ छ ।

उनीसँगै झुिक्कएर प्रहरीमा जागिर खाएकामध्ये आधाजसोले जागिर छाडे । उनको अनुसार उती वेला महिलाप्रहरीलाई पुरूषले जस्तो गाह्रो काम भने लगाइदैन थियो । महिला भएकाले सजिलो काम लगाउने गरेको उनले बताइन् ।

०३२ सालमा असई (सहायक प्रहरी निरीक्षक) पदमा बढुवा भएकी उनले २०३९ सालमा जागिरबाट राजीनामा दिएकी हुन् । ‘त्यसबीचमा मैले धेरै महत्वपूर्ण जिम्मेवारी पनि प्राप्त गरेँ र सफलता पनि हात लाग्यो । तर, सोचेजसरी बढुवा भने हुन पाइन,’ उनको गुनासो गरिन् ।

विगतको तुलनामा अपराध र अपराधीको दायरा फराकिलो बन्दै गएकोले सुरक्षा चुनौती पनि बढेको उनको ठम्याइ छ । तर, त्यसो हुनुको दोष उनले समयसँगै परिवर्तित समाज र मानिसको सोचलाई दिन्छिन् ।

उनले भनिन्, ‘समय ठिक छैन । सबैलाई हरेक चीजको लोभ छ । लोभकै कारण अपराध बढेको छ ।’ आमाबुवाका सात सन्तानमध्ये सबैभन्दा जेठी उनको १०–१२ वर्षको उमेरमा विवाह भएको थियो । निःसन्तान उनी १० वर्षअघि श्रीमान् बितेपछि एक्ली जस्तै बनेकी छन् । जीवनमा पैसा र सम्मान कहिल्यै अभाव नभएको बताउने उनले हाल निवृत्तीभरणस्वरूप प्राप्त हुने १८ हजार रुपैयाँले गुजारा चलाउँदै आएकी छन् । बीबीसी, कमल परियार

कमेन्ट गर्नुहोस्