भीम रावलको कविताः ‘के थियो हिजो, के भयो आज’

के थियो हिजो के भयो आज, विचार गरौँन लिएको लक्ष्य

                      कविता

खोलेर आँखा देश र संसार राम्ररी हेरौँन
शैली र ढाँचा जति छन् त्याज्य अब त फेरौन,
हामीलाई आशा, भरोसा गरी जनता हेर्दैछन्
नेपाल पछि ब्युझेका देश काँचुली फेर्दैछन् ।

नेपाल आमा, कान्ति र आभा सुन्दर खोज्दैछिन्
स्वत्व र गौरव मुटुमा साँच सन्तान हो भन्दैछिन्,
विश्वले हेर्छ हिमाल तिर लुम्बिनी यहीँ छ
समृद्धि ल्याउने वरदान सरी प्रकृति जहाँ छ ।

धर्तीको आवाज जन–जनको धड्कन छामेर बुझौँन
हिँडेका पाइला गरेका बाचा फर्केर हेरौँन,
कतिले यहाँ जीवनै दिए काम गरौँ इमानले
खोजेको देशले पाउनेछ पक्कै सामुहिक योगदानले ।

के थियो हिजो के भयो आज विचार गरौँन
लिएको लक्ष्य, उद्देश्यतर्फ अगाडि बढौन,
हामीले आज गरेनौँ भने कसले देश सपार्ला
जनता र देश संकटमा परे इतिहास धिक्कारला !

कमेन्ट गर्नुहोस्