दूध बजार पुर्‍याउन नसकेपछि खोलामा बगाए

काभ्रे, असार २९ । जिल्लाको बेथानचोक गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बजार पुर्याउन नसकेपछि खोलामा बगाएका छन् । असार २५ देखी २८ गते सम्म त्यस क्षेत्रमा परेको अविरल बर्षाका कारण सडक देखी गोरेटोबाटोसम्म पहिरोले अबरुद्ध पारेर बजारसम्म लैजान नसकेपछि किसानबाट संकलित दूध ढुङखर्कको पाट्नेखोलामा बगाएका हुन् ।

बेथानचोक गाउँपालिका–३ का स्थानीय कमल नेपालले किसानबाट सङ्कलित दूध बजार लैजान नसकेपछि खोलामा बगाएको फोन मार्फत जानकारी दिए । मुख्य सडकमा पहिरो नै पहिरो छ, मानिस हिड्ने गरेको गोरेटोबाटो पनि पहिरोका कारण हिड्न सक्ने अवस्था नभएपछि स्थानीय चेतनाथ तिमल्सिनाले किसानबाट संकलित दूध खोलामा बगाएको नेपालले जानकारी दिए। नेपालका अनुसार यहाँ अझै पनि सडक सञ्चालनमा आउन सकेको छैनन् ।

बेथानचोक गाउँपालिकाका–१ का हिरामणि सापकोटाले बजार पुर्याउनै नसकिएपछि खुवा समेत घोट्न छाडेको बताउनुभयो । किसानबाट संकलन गरेर खुवा घट्दै आएको उनले पनौतीसम्म बोकेर लैजाने भरिया नभएपछि केही दिनका लागि दूध संकलन नगरेको बताए । तर किसानहरुले भने दैनिक धेरै दूध भएकाले राख्ने ठाउँ नै नभएको गुनासो गरेका छन् । बेथानचोकका प्रत्येक घरले कम्तीमा पनि दैनिक १० देखि ६० लिटरसम्म दूध बेच्दै आएका छन् । एक दिनको दूधले नै सबै भाँडाकुँडा भरिन्छ अनी कसरी राख्नु । दही घिउ बनाउन पनि भाँडाकुँडा नभएकाले समस्यामा परेको स्थानीयको भनाई छ ।

बेथानचोक गाउँपालिकाको च्याम्राङबेशी, ढुङखर्क, च्यासिङखर्क, चलालगणेस्थान र महाकालचौर भुग्देउका अधिकांश स्थानीय कृषि र पशुपालनमा रहेका छन । यहाँको मुख्य पेशा नै कृषि र पशुपालन हो । यहाँबाट दैनिक ३० हजार भन्दा बढी दूध उत्पादन हुने गरेको अनुमान गाउँपाकिलाले गरेको छ । चिस्यान केन्द्र भएपनि बिद्युत नहुँदा सञ्चालन हुन सकेको छैनन ।

खोपासी–चलालगणेस्थान–ढुङखर्क सडक खोल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए। ठूलो ठूलो पहिरो आएको र कती ठाउँमा सडकको बेस समेत भत्किएकाले बनाउन समय लागेको हो, आइतबार बेलुकासम्ममा सञ्चालनमा ल्याउने कोशिस गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्