धनगढी उप–महानगरको नीति, कार्यक्रम तथा बजेट पारित

कैलाली, असार २९ । धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । आइतबार बसेको नगरसभा बैठकले बार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । असार ८ गतेबाट धनगढी उप–महानगरपालिकाको चौथो नगरसभा सुरु भएको थियो । उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पेश गरेको बार्षिक नीति, कार्यक्रम तथा बजेटमा नगसभा सदस्यले छलफल गरेका थिए । छलफलमा नगरसभाका ७० भन्दा बढीले छलफलमा भाग लिएका थिए ।

उप–प्रमुख भट्टले असार ८ गते नगरसभामा १ अर्ब ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिइन् । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैसा रहेको थियो । पुँजीगततर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपैयाँ ६२ पैसा रहेको थियो । नगरपालिकामा कार्यान्वयन हुने तर रातो किताबमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको बताइएको छ । यस अघि अनुदानको अनुमानित रकमलाई पनि बजेटमै जोडर राख्ने प्रावधान थियो ।

नगरको नीति कार्यक्रम तथा बजेट पूर्वाधार विकासमा सुधारिएको सडक, कृर्षिमा आधुनिकिकरण तथा ब्यवसायिकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा सञ्चारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायिक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद् तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ ।

कषितर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकासतर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नश्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

सामाजिक विकासतर्फ वालबालिका किशोर–किशोरीसँग उप–मेयर कार्यक्रम, शिक्षातर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाऊ’ कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । नगरवासीका मागहरुलाई स्रोत–साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभाका सदस्यले दिएका सुझाव तथा गुनासो सम्बोधन हुने गरेर नीति, कार्यक्रम तथा बजेटलाई अन्तीम रुप दिइएको बताईन् । उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नगरसभाका सदस्य सचिव नारायण प्रसाद सापकोटाले बार्षिक नीति, कार्यक्रम तथा बजेट माथीको छलफल सौहार्दताका साथ सम्पन्न भएको बताए ।

कमेन्ट गर्नुहोस्