रेडियोकर्मी खड्का ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौं, असार २९ । रेडियोकर्मी रमा खड्का बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएकी छन् । केन्द्रीय बाल कल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिँदै आएको नगदसहितको पुरस्कारबाट यो वर्ष रेडियोकर्मी खड्का सम्मानित भएकी हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंको सभाहलमा आइतबार आयोजित एक समारोहकाबीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पत्रकार खड्कालाई नगदसहित सम्मानपत्र प्रदान गरिन् । खड्कालाई नगद २५ हजारसहित प्रमाणपत्र दिइएको हो।

रेडियो पत्रकारितातर्फ ‘उज्यालो रेडियो नेटवर्क’ मा कार्यरत खड्काले उपत्यकाबाट यसबर्षको उक्त पुरुस्कार पाएकी हुन् । जिल्लाबाट भने सप्तकोशी एफ.एममा कार्यरत रुमा रिजालले उक्त पुरुस्कार पाएकी छन् । यस्तै, छापा पत्रकारितातर्फ प्रकाश सिलवाल र हिमाल लम्साल नगदसहित सम्मानित भएका छन् ।

उपत्यकाबाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत भएका छन् भने टेलिभिजनतर्फ धनवीर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल नगदसहित सम्मानित भएका छन् । त्यस्तै कार्यक्रम प्रस्तोतातर्फ शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत भएका छन् । त्यसैगरी, सामुदायिक रेडियोतर्फ बाजुराको रेडियो बाजुरा पुरस्कृत भएको छ । रेडियोलाई नगद ५० हजारसहित सम्मानपत्र दिइएको छ ।

कमेन्ट गर्नुहोस्