अमेरिकामा भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त, कार्की अक्टोबरमा आयरल्याण्ड जाने तयारीमा

डिसी, असार ३० । अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ । उनलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो ।

गत जुलाई १३ को दिन ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा उनलाई प्रथम पुरस्कार प्राप्त भएको हो । उक्त स्वर्ण पदक प्राप्तसँगै उनी आगामी अक्टोबरमा आयरल्याण्डमा हुने आईपिएल प्रतियोगिताको लागि हुने पूर्व योग्यता (प्रि क्वालिफाई) भएका छन् । यो पूर्व योग्यता प्राप्त भएपछि मात्र आईपीएललको प्रतिस्पर्धामा प्रतियोगीको रुपमा जान पाइन्छ । उनी यसमा योग्य भएपछि अब आयरल्याण्डको लागि तयारीमा जुटेका छन् ।

स्मरण रहोस्, भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा गतवर्ष सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा उनले स्वर्ण पदक समेत जिती सकेका छन् । अमेरिकाको एटलान्टामा सम्पन्न भएको प्रतियोगिता नै यसवर्ष आयरल्याण्डमा हुनेछ ।

कार्की ड्रग टेस्टेड (कृत्रिमरुपमा शारीरिक बल वृद्धि गर्न ओखती प्रयोग नगर्ने विधि) खेलाडी हुन् भने उनी २०१९ को आईपीएल प्रतियोगीतामा ड्रग टेस्टेडको रुपमा आयरल्याण्ड जाने छन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगितामा सहभागी हुने गरेका छन् । उनले थुप्रै पदक प्राप्त गरिसकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

यसैगरी उनका छोरा रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक विजेता समेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई यहाँसम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिँदै आईरहेका छन् ।

कमेन्ट गर्नुहोस्