इन्द्रसरोवरमा खोलाले बगाएर आमाछोरी बेपत्ता, छोटो दूरीको मार्गसहित त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा, असार ३० । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका १ मा स्थानीय टोमाट भन्ने स्थानमा गएको पहिरोले बगाएर एकै परिवारका दुईजना बेपत्ता भएका छन् ।

सडकमा आएको भेलले सोमबार बिहान घरसहित बगाएर स्थानीय कान्छीमाया बलामी र छोरी बबितालाई बगाएर बेपत्ता भएका हुन् । बेली बलामीको घाइते अवस्थामा उद्धार गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष जमानसिं वाइवाले विहान ४ बजेको समयमा आएको बाढीले घरसहित बगाएर आमा छोरी बेपत्ता भएको जानकारी दिए ।

४२ वर्षीया कान्छी बलामी र १४ बर्षीया बबिता बलामीको खोजी कार्य भईरहेको बताउँदै उनले अधिक वर्षाले खोजी गर्न समस्या भएको बताए । कुलेखानी आयोजनाको जलाशय क्षेत्रको वरपर अधिक वर्षा भएकोले ड्याम्पमा खतरा बढ्दै गएकोले खोल्ने तयारी भईरहेको जानकारी दिंदै उनले उद्धारमा सहयोग गर्न प्रशासन र सुरक्षाकर्मीलाई आग्रह गरे ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बेपत्ता भएका आमाछोरीको खोजी कार्य भईरहेको जानकारी दिए । यसैबीच गएराति आएको अविरल वर्षाका कारण त्रिभुवन राजपथ र कुलेखानी–फाखेल–फर्पिङ्ग सडक अवरुद्ध बनेको छ । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका १ स्थित गुम्बा गएको पहिरोका कारण अबरुद्ध बनेको हो ।

यस्तै गत बिहीबारबाट अबरुद्ध कुलेखानी–फाखेल–फर्पिङ्ग सडक आइतबार साँझबाट सुचारु भएकोमा पुनः राकसखोला, स्याउली बजार, हुमाने भञ्ज्याङ्ग लगायतका स्थानमा गएकोले पहिरोले अवरुद्ध भएको प्रहरी उपरीक्षक सिंहले बताए । काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी–फर्पिङ्ग सडक, हेटौँडा–सिन्धुली–धरान सडक, कान्ति राजपथ लगायतका ग्रामीण सडक गत बिहीबारबाट बाढी पहिरोका कारण अबरुद्ध भएका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा अधिक वर्षासँग आएको बाढी पहिरोका कारण विद्युत सेवासँगै नेपाल टेलिकमको सेवासमेत अबरुद्ध बनेको छ । थाहा नगरपालिका क्षेत्रमा गएरातिबाट आएको वर्षासँगै बाढी पहिरो आउँदा खेती योग्य जमिनमा नोक्सानी पुर्याउनुका साथै सडक बगाएर क्षति पुगेको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्