रोहित शर्माले पाए गोल्डन ब्याट, विश्वकप २०१९ मा सर्बाधिक रन

लण्डन, असार ३० । आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इग्ल्याण्डले आफ्नो नाममा गर्न सफल भएको छ । सुनचाँदीले बनेको ११ किलो ट्रफीसँगै इंग्ल्याण्ड क्रिकेट टीमले ४० लाख डलर पुरस्कार समेत पाएको छ । फाइनलमा हार्ने न्यूजिल्याण्डको टीमले भने २० लाख डलर पाएको छ । सेमी फाइनलमा हार्ने टीमले पनि नगद पुरस्कार पाएका छन् ।

यो विश्वकपमा सबैभन्दा बढी रन बनाउने भारतीय ओपनर खेलाडी रोहित शर्माले गोल्डन ब्याटको उपाधि पाएका छन् । तर सबैभन्दा बढी रन बनाएर पनि उनले प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने पाउन सकेनन् । यो उपाधि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले पाए ।

रोहित शर्माले यो विश्वकपमा खेलेका नौ खेलमा ८१ को औसतले जम्मा ६ सय ४८ रन बनाए । यसमा ५ शतक र एउटा अर्धशतक रहेका छन् । रोहित शर्मापछि अष्ट्रेलियका डेविड वार्नरले दश खेलमा ७१.८८ को औसतले ३ शतकसँगै ६ सय ४७ रन बनाए । बंग्लादेशका अल राउण्डर शाकिब अल हसनले यो विश्वकपमा दुई शतक र ५ अर्धशतकसहित ६ सय ६ रन बनाए । केन बिलिम्सन भने चौथो नम्बरमा छन् ।

रोहित शर्माले लगातार विश्वकपमा सबैभन्दा बढी शतक बनाउने रेकर्ड पनि आफ्नो नाम गर्न सफल भएका छन् । यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो । उनले चारपटक मेन अफ द म्याचको उपाधि पाए ।

कमेन्ट गर्नुहोस्