कुलेखानी जलाशयको सतह बढ्यो, खतरा बढ्दै गएपछि नियन्त्रित निकासतर्फ

हेटौँडा, असार ३० । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयमा पानी जम्मा हुने क्रम बढेसँग खतराको संकेत देखिएपछि सतर्कता अपनाइएको छ । जलाशयको वरपरको क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर जलाशय पानी सङ्कलन एकाएक तीब्र भएपछि आयोजनाले सतर्कता अपनाएको हो ।

जलाशय भरिने बढेपछि जलाशयमा भरिएको पानीको व्यवस्थापन गर्न नियन्त्रित निकास दिने तयारी गरिएको छ । जलाशयमा पानीको सतह बढेसँगै जुनसुकै समयपनि निकास दिनसक्ने गरी तयारी गरिएको हो । जलाशयमा वरपरको क्षेत्रमा पानी अधिक परेपछि अहिले प्रतिघण्टा ६० सेन्टिमिटरको दरले जलाशयमा पानी भरिनेक्रम बढेको छ ।

यो क्रम बढिरहेमा जलाशय र वरपरको क्षेत्रमा खतरा बढ्ने भएकोले ढोका खोलेर पानी निकाल्नु पर्ने अवस्था आउनसक्ने कुलेखानी प्रथमका आयोजना प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । उहाँले समुन्द्री सतहबाट १५ सय २७ मिटरको उचाईसम्म पानी सङ्कलन भएपछि सुरक्षितरुपमा निकास दिने तयारी भईरहेको बताए । कुलेखानी जलाशयमा पानी बढेपछि ६० मेगाबाट क्षमताको कुलेखानी प्रथमको दुबै टर्वाइन चलाएर विद्युत उत्पादन भईरहेको छ ।

कुलेखानी आयोजनाको जलाशय ईन्द्रसरोवरको समुन्द्री सतहबाट १५ सय ३० मिटरको उचाईसम्म पानी सङ्कलन हुने क्षमता रहेको छ । जलाशयमा हाल १५ सय २६ दशमलव १८ मिटरसम्म पानीको सतह पुगेको छ । जलाशयका लागि पानी आउने क्षेत्रका खोलानालामा पानीको बहाव बढेसँगै जोखिम बढेको हो । जलाशय भरिँदै गएपछि आयोजनाले सचेतता अपनाउनुका साथै आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

आयोजनाको तल्लो तटीय क्षेत्र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासहित सिन्धुली, सर्लाही र रौतहट जिल्लाका वागमती खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । इन्द्रसरोवर जलाशयको ड्याम्प खोलेपछि मकवानपुर जिल्लाको कुलेखानी, सिस्नेरी, बेसी इपा, धुसेलबेसीसहित माल्टाबेसीसम्मको क्षेत्र प्रभावित हुने छ ।

कमेन्ट गर्नुहोस्